वीरगञ्ज । शनिवार हनुमान जयन्तीको शोभा यात्रामा भएको झडपपछिको तनाव कम गर्न जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शनिवार साँझ साढे ७ बजेबाट सुरु भएको कर्फ्यु आइतबार दिउँसो १२ बजेसम्म लागू गर्ने जनाएको छ ।
कर्फ्यु जारी रहे पनि अत्यावश्यक सेवामा संलग्न सवारी साधन जस्तै दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी, खानेपानी आपूर्ति, फोहोर व्यवस्थापन, सरसफाइकर्मी र परीक्षा दिन जानुपर्ने विद्यार्थीलाई भने आवागमनमा सहज बनाइएको छ ।
शनिवार भएको शोभा यात्रामा दुई समूहबिच झडप हुँदा दर्जनौँ सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका थिए । घटनापछि सुरक्षा व्यवस्था कडा पार्दै प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको हो ।
आज बिहान ९ बजे जिल्ला प्रशासन कार्यालयमा तनावको समाधानका लागि प्रशासन र झडपमा संलग्न दुई पक्षबिच वार्ता हुने तयारी छ ।
कर्फ्युका कारण भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरू सीमा क्षेत्रमा अलपत्र परेका छन् । यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ ।
यात्रुहरू सिर्सिया र बलिरामपुर हुँदै गन्तव्य तर्फ लागेका छन् भने, रात्रि बसबाट आएका यात्रुहरू गण्डक नहरको बाटो प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान वीरगञ्जको अवस्था सामान्य देखिए पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । झडप हुन सक्ने सम्भावित स्थानहरूमा प्रहरीको निगरानी थप कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त गस्ती गरिरहेका छन् ।
प्रशासनले यात्रुहरूलाई टिकट र पहिचान हेरी गन्तव्यसम्म सहजता प्रदान गरिरहेको छ । कर्फ्यु प्रभावित क्षेत्रबाहेक वैकल्पिक रुट प्रयोग गर्न सुरक्षाकर्मीहरूले यात्रुहरूलाई सूचित गरेका छन् ।

