तनहुँका जङ्गलमा आगलागी बढ्न थालेको छ । १२ ठाउँमा लागेको आगलागीबाट एक सय ६२ हेक्टर जङ्गललाई सखाप पारेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लामो खडेरीले गर्दा यसवर्ष यहाँका वन डँढेलोको घटना बढ्न थालेको उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘खडेरीले पातपतिङ्गर सुक्दा तथा हावाहुरीले गर्दा वन क्षेत्रमा अहिले आगलागीको उच्च जोखिममा छ ।’
पानी कम परेकोले ज्वलनशील पदार्थ अधिक जम्मा हुँदा वन जोगाउन सकस भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले बताउनुभयो । कार्यालयका अनुसार डढेलो रोकथामका लागि जिल्लामा विशेष अभियान सुरु गरिएको छ । डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने भएको न्यूनिकरण गर्न अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाको दश वटै पालिकामा अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । सामुदायिक वनका पदाधिकारी र पालिकाको विपद् तथा वातावरण शाखाका कर्मचारीलाई सहभागी गराई जोगिने अभियानको बारेमा प्रशिक्षण प्रदान गरिएको हो । अभियान अन्तर्गत बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम भईरहेको सूचना अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो ।
जिल्लाको अधिकांश ठाउँमा सामुदायिक वन, कबुलियती वन निजी आवादी वन डढेलोको उच्च जोखिममा छन् । यसको रोकथाममा रेडक्रस, उपभोक्ता, वन हेरालु र वन उपभोक्ता समिति, नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनासँग, स्काउट सहकार्य गरी अभियान सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
जङ्गलमा लागेको आगो निभाउनको लागि ट्याक्टरमा बोक्न मिल्ने गरी चार हजार दुई सय लिटर पानी अट्ने क्षमताको अग्नि नियन्त्रक पानी ट्याङ्की निर्माण गरिएको छ । गत वर्ष एक हजार लिटर क्षमताको एक थान निर्माण गरिसकिएको वन अधिकृत नविन विश्वकर्माले जानकारी दिनुभयो ।