काठमाडौं । कीर्तिमानी १५ पटकको च्याम्पियन रियल मड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब आर्सनल १६ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बुकायो साकाको पेनाल्टी मिस र गोलपछि दोस्रो लेगको खेलमा रियललाई उसैको घरमा २–१ ले पराजित गरेको आर्सनल समग्रमा ५–१ को नतिजासहित अन्तिम चारमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० ले जितेको आर्सनल आरामदायी अवस्थामा थियो तर ढुक्क हुन सक्ने स्थिति भने थिएन । किनभने रियलले घरेलु मैदानमा खेल्दै थियो र पुनरागमन गर्न सक्ने स्मभावन पनि थियो ।
बुकाया साकाले १३औं मिनेटमा पेनाल्टी मिस गर्दा रियललाई राहत भएको थियो । तर, साकाले ६५औं मिनेटमा गोल गर्दै त्यसलाई सच्याए । त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने संकेत गरेका थिए । तर गाब्रीएल मार्टिनेलीले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै आर्सनललाई दोस्रो लेगमा पनि जित दिलाए ।
यस्तै इटालियन क्लब इन्टर मिलान पनि जर्मन क्लब बायर्न म्युनिखलाई पछि पार्दै सेमिफाइनल पुगेको छ । दोस्रो लेगमा २–२ को बराबरी खेलेको इन्टरले समग्रमा ४–३ को जित निकालेको हो । पहिलो लेगमा २–१ ले विजयी भएको इन्टरलाई त्यही जित सहयोगी बन्यो ।
दोस्रो लेगमा बायर्नले ह्यारी केनको गोलमार्फत पहिले अग्रता लिएपनि जोगाउन सकेन । लाउटारो मार्टिनेज र बेन्जनामिन पाभार्डले गोल गरेपछि इन्टरले २–१ को अग्रता बनायो । एरिक डायरले बायर्नका लागि गोल फर्काउँदा खेल बराबरीमा सकिएको थियो ।
आर्सनल र इन्टर अन्तिम चारमा पुगेसँगै सेमिफाइनल समिकरण पनि तय भएको छ । यसअघि नै बार्सिलोना र पेरिस सेन्ट जर्मेन सेमिफाइनल पुगिसकेको छ ।
अब आर्सनलले पेरिस सेन्ट जर्मेन र बार्सिलोनाले इन्टर मिलानसँग खेल्नेछ । सेमिफाइनल पहिलो लेगका खेलहरू २९ र ३० अप्रिलमा हुनेछ भने दोस्रो वेग ६र ७ मे मा हुनेछ ।
फाइनल खेल ३१ मे मा म्युनिखको एनिएन्ज एरेनामा हुनेछ ।