वीरगंज
मधेस प्रदेशमा सञ्चार क्षेत्रसँग सम्बन्धित दुई प्रमुख संस्थाहरूको नेतृत्वमा नयाँ अनुहारहरू चयन भएका छन्। बाराका वरिष्ठ पत्रकार कमल उपाध्यायलाई मिडिया काउन्सिल मधेस प्रदेशको अध्यक्षमा र सप्तरीका पत्रकार जितेन्द्र खड्गालाई आमसञ्चार प्राधिकरण मधेस प्रदेशको अध्यक्षमा नियुक्त गरिएको छ।
आज बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उनीहरूको नियुक्ति गर्ने निर्णय गरेको हो। यस कुराको पुष्टि प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेका छन्।
कमल उपाध्याय लामो समयदेखि बारा जिल्लामा पत्रकारिता गर्दै आएका छन । उनी नेपाल पत्रकार महासंघ बारा शाखाको अध्यक्षका रूपमा दुई कार्यकालसम्म नेतृत्वमा रहेर सक्रिय भूमिका निभाइसकेका छन्।यसैगरी
आमसञ्चार प्राधिकरण मधेस प्रदेशको नेतृत्व पाएका जितेन्द्र खड्गा पनि पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका व्यक्ति हुन्। उनी २०७४ देखि २०७७ सालसम्म नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अध्यक्ष थिए।
खड्गा लामो समय कान्तिपुर दैनिकका संवाददाता रहेका छन् भने विभिन्न राष्ट्रिय तथा क्षेत्रीय पत्रपत्रिकाहरूमा समेत योगदान दिँदै आएका छन्।
अझै बाँकी छ सदस्यहरूको नियुक्ति
यद्यपि, मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका सदस्यहरूको नियुक्ति भने हालसम्म टुंगिएको छैन। मिडिया काउन्सिलमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका वर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था भए पनि अन्य सदस्यहरू नियुक्त गर्ने प्रक्रिया चाँडै अघि बढाइने सरकार स्रोतले जनाएको छ।
अब काउन्सिल र प्राधिकरण दुवैले आगामी दिनमा सञ्चार नीतिहरू सुदृढ पार्न, श्रमजीवी पत्रकारहरूको हित सुरक्षित गर्न र प्रेस स्वतन्त्रतालाई संस्थागत गर्न के(कसरी काम गर्छन् भन्नेमा सबैतिरको चासो केन्द्रित भएको छ।