काठमाडौं। दुई दिनयता देशभर गर्मी बढ्न थालेको छ। वैशाख सुरूमै तापक्रम निकै बढेकाले योपटक गर्मी धेरै हुन सक्ने अनुमान गरिएको छ।
मौसमविदहरुका अनुसार तत्काल पानी पर्ने सम्भावना निकै कम रहेकाले तातो हावाको लहर चल्न सक्ने अवस्था छ। यस्तोमा सतर्कता अपनाउन उनीहरुले सुझाएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन। मौसमविद रोजन लामिछानेका अनुसार पनि नयाँ मौसमी प्रणाली नभएको र पश्चिमी वायु तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेकाले तापक्रम अझै बढ्ने देखिएको छ।
आज बुधबार सबैभन्दा बढी तापक्रम भैरहवामा ४३ डिग्रीसम्म पुग्नसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सबैभन्दा कम तापक्रम आज राति जुम्लामा ६ डिग्रीसम्म पुग्ने अनुमान छ।
मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो।यसैगरी मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो।
तत्काल पानी पर्ने सम्भावना नरहेकाले विराटनगर लगायत मोरङका दक्षिणी भेगमा बढी गर्मी हुने बताइएको छ। यसैगरी, सुनसरी, झापा, उदयपुरलगायत जिल्लामा पनि तापक्रम बढेर जनजीवन प्रभावित हुने देखिएको छ।