रौतहट, वैशाख ९– रौतहट जिल्लाको राजपुर नगरपालिकामा कृषकहरूको अन्नबालीमा निरन्तर क्षति पुर्याउँदै आएका जंगली बाँदरलाई नियन्त्रणमा लिन नगर प्रमुख डा. मोहम्मद राजीक आलमको विशेष पहलले ठोस परिणाम दिएको छ। वडा नं.९ बैरियामा मकै तथा अन्य बाली नष्ट गरिरहेका १८ वटा जंगली बाँदरलाई नियन्त्रणमा लिइएको छ।
यो कार्य वन तथा वातावरण मन्त्रालय र कृषि समितिसँगको निरन्तर समन्वयपछि सम्भव भएको हो। बाँदर व्यवस्थापनका लागि लागू गरिएको ‘बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ अन्तर्गत यो पहल गरिएको हो, जसको उद्देश्य कृषकहरूलाई जंगली बाँदरबाट हुने क्षतिबाट जोगाउनु हो।
सम्बन्धित निकायहरूसँगको सहकार्यमा नियन्त्रणमा लिइएका बाँदरहरूलाई राजपुर नगरपालिकाको ट्र्याक्टरमा जंगलतर्फ लगिएको थियो, जहाँ तिनीहरूलाई सुरक्षित रूपमा छोडिएको जनाइएको छ।
यस अभियानले बाँदर नियन्त्रणमा मात्र नभई स्थानीय सरकारको कार्यदक्षता र कृषकहरूको समस्याप्रति जिम्मेवार व्यवहारको उदाहरण प्रस्तुत गरेको छ। कृषकहरूले पनि यसलाई सकारात्मक रुपमा लिएका छन्, जसले उनीहरूलाई आगामी दिनमा खेतीपातीमा लगानी गर्न अझ प्रोत्साहित गर्नेछ।
नगरप्रमुख डा. आलमले बाँदर समस्याले कृषिमा परेको असर बुझेर तत्कालीन व्यवस्था अन्तर्गत कानुनी संशोधनमार्फत समाधान खोज्नु, स्थानीय नेतृत्वले राष्ट्रिय नीतिसँग सहकार्य गर्दै कसरी प्रभावकारी काम गर्न सक्छ भन्ने एक प्रेरणादायी दृष्टान्त बनेको छ।
यस कार्यले अन्य नगरपालिका र गाउँपालिका स्तरमा पनि बाँदर व्यवस्थापनका लागि नीति निर्माण र कार्यान्वयनतर्फ ध्यान दिन आवश्यक संकेत गरेको छ।