रौतहट – रौतहट जिल्लाको चन्द्रपुरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र ग्रामीण विकास केन्द्र नेपालको संयुक्त आयोजना तथा गरुडा र माधवनारायण नगरपालिकाको सहकार्यमा तीन दिने आधारभूत मनोसामाजिक परामर्श तथा सहयोग तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिममा गरुडा नगरपालिकाबाट १४ जना र माधवनारायण नगरपालिकाबाट १५ जना गरी कुल २९ जना बाल संरक्षण क्षेत्रमा कार्यरत प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागीमध्ये बाल कल्याण अधिकृत, बाल अधिकार समितिका पदाधिकारी, शिक्षक, स्वास्थ्यकर्मी, बाल सञ्जालका प्रतिनिधि तथा रुपान्तरण सहजकर्ताहरू रहेका थिए।
तीन दिनसम्म सञ्चालन गरिएको तालिममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी आधारभूत अवधारणा, मनोसामाजिक समस्या तथा परामर्श प्रक्रिया, संचारका सीप, आत्मचिनारी, सहयोग संयन्त्र, समूह व्यवस्थापन तथा आगामी कार्य योजना निर्माणजस्ता महत्वपूर्ण विषयवस्तुमा ज्ञान र सीप प्रदान गरिएको थियो। तालिम विश्व स्वास्थ्य संगठन (WHO) द्वारा प्रशिक्षित मनोसामाजिक परामर्शकर्ताको सहजीकरणमा सम्पन्न भएको हो।
पूर्ण रूपमा सहभागीमूलक विधिमा सञ्चालित तालिममा छलफल, मस्तिष्क मन्थन, भूमिका अभिनय, विश्राम अभ्यास तथा व्यक्तिगत प्रस्तुतीकरणजस्ता अभ्यासहरू समावेश गरिएका थिए। आयोजक संस्थाका अनुसार यस्ता तालिमहरूले समुदायमा विद्यमान मनोसामाजिक समस्याप्रति जनचेतना अभिवृद्धि गर्ने र प्रभावकारी सहयोग प्रणाली निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
तालिम समापन कार्यक्रममा ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष डा। पारस हुसेनको अध्यक्षता, आयोजक संस्थाका परियोजना कर्मचारी तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।