रौतहट, वैशाख १२ — गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापना गर्न माग गर्दै स्थानीय व्यापारी तथा व्यवसायीहरूले लगातार छैटौं दिन पनि धर्ना जारी राखेका छन्। व्यापारी अगुवा कौशल साहको नेतृत्वमा व्यवसायीहरूले शुक्रबार पनि भन्सार कार्यालयको मुख्य गेट अगाडि १२ बजे देखि २ बजेसम्म धर्ना प्रदर्शन गरेका हुन्।
व्यापारीहरूका अनुसार, गौर भन्सारमा खाद्यान्न परीक्षणका लागि आवश्यक प्लान्ट क्वारेन्टिन शाखा नहुँदा प्याज, आलु, चामल, फलफूल लगायतका सामग्री वीरगञ्जको बाटो भएर ल्याउनु परिरहेको छ, जसले गर्दा ढुवानी खर्च अत्यधिक बढेको छ। बढेको खर्चको असर खाद्यान्नको मूल्य वृद्धिमा परेको र यसले उपभोक्ता र व्यापारी दुवैलाई चुनौती थपेको उनीहरूको गुनासो छ।
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले व्यवसायीहरूको जायज मागलाई राज्यले लामो समयदेखि बेवास्ता गर्दै आएको आरोप लगाए। उनले भने, ‘व्यवसायीकै हितका लागि हामी ऐक्यबद्ध भएर धर्नामा सहभागी भएका छौँ। राज्यले अब व्यवसायीहरूको आवाज सुन्नैपर्छ।’
व्यापारी कौशल साहले भने, ‘चैत ३१ गते नै भन्सार कार्यालय प्रमुखमार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थियौं। तर अझैसम्म कुनै सुनुवाइ नभएकाले हामीले वैशाख ७ गतेदेखि १५ गतेसम्म धर्ना कार्यक्रम घोषणा गरेका छौं। यदि यसबीचमा पनि माग पूरा भएन भने वैशाख १६ गतेदेखि गौर बजार बन्द गर्ने र भन्सार कार्यालयमा अनिश्चितकालीन ताला लगाउने बाध्यता हुनेछ।’
व्यापारीहरूले प्लान्ट क्वारेन्टिन शाखा स्थापनाले गौर नाका हुँदै सिधै खाद्यान्न आयात सम्भव हुने, ढुवानी लागत कम हुने, व्यापारिक गतिविधि बढ्ने र सरकारी राजस्व समेत वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्।
यसबारे सम्बन्धित निकायले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर व्यापारीहरूको आन्दोलनले गौर भन्सार क्षेत्रको व्यापारिक वातावरणमा चासो र तनाव दुवै बढाएको देखिएको छ।