सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवामा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ भने एक जना घाइते भएका छन्।
सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार मल्हनवाका ५० वर्षीय कान्तालाल चौधरीको गोली हानी हत्या भएको हो। कान्तालालका भाइ रामाकान्त चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ ।
शुक्रबार बिहान करिब १ बजेतिर ४–५ जनाको डाँका समूहले चौधरीको घरमा लुटपाट सुरु गरेका थिए। लुटपाटको प्रतिकार गर्दा घरधनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार गरिएको थियो। धारिलो हतियार प्रहारबाट घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए। उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए।
घटनापछि डाँका समूहले पाँच तोला सुन, दुई किलोग्राम चाँदी र ५०र६० हजार रुपैयाँ नगद समेत लुटपाट गरी फरार भएको स्थानीयले बताएका छन्।
डाँका समूहले आक्रमण गरेको जानकारी शुक्रबार बिहान १स्२० बजे प्राप्त भएको प्रहरीले जनाएको छ। त्यसलगत्तै प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा एक टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमान्डमा नौ जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट पनि नौ जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनास्थलमा नपड्किएको ३ राउन्ड गोली र १ राउन्ड गोलीको खोका समेत फेला पारेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । यस घटनाले स्थानीय बासिन्दामा त्रास सिर्जना गरेको छ। प्रहरीले डाँका समूहको खोजी कार्य जारी राखेको छ।