काठमाण्डौ – २०८१ को एसईईमा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन् ।
बागमती प्रदेशबाट एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् भने कर्णाली प्रदेशबाट ४६ हजार ४५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, लुम्बिनी प्रदेशबाट ९७ हजार ६८७ जना र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नतिजाअनुसार गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार गणित विषयमा मात्रै एक लाख २८ हजार २१८ जना परीक्षार्थी ननग्रेडेड भएका छन् ।
समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड भएका हुन् ।
यस्तै अङ्ग्रेजीमा ८० हजार ६७२ जना, नेपालीमा ५४ हजार ७३५ जना, सामाजिकमा ५३ हजार १८६ जना र विज्ञान विषयमा ७९ हजार २७१ विद्यार्थी ननग्रेडेड भएका छन् ।
यस्तै ऐच्छिक अर्थशास्त्रमा १२ हजार १५० र ऐच्छिक गणितमा १८ हजार २२२ विद्यार्थी ननग्रेडेडमा परेका छन् ।