हरेक वर्षझैँ यस वर्ष पनि राष्ट्रिय सौन्दर्यकर्मी युनियन वीरगंज नगर कमिटीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरियो चुरा र मेहन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको छ। युनियनले पर्सा जिल्लास्थित मानव सेवा आश्रममा आश्रित महिला तथा किशोरीहरुलाई हरियो चुरा र मेहन्दी लगाउने कार्यक्रम सम्पन्न गरेको हो।
युनियनका वीरगंज नगर अध्यक्ष पिंकि गुप्ताको नेतृत्वमा गरिएको कार्यक्रममा युनियनकी मधेश प्रदेश अध्यक्ष ओमकुमारी शर्मा ,नगरकमिटीका उपाध्यक्ष सुमन अधिकारी, सचिव सुनिता मानन्धर, सह सचिव भुकुमारी प्रधान, कोषाध्यक्ष रानी यादव, कमिटीका सदस्य रन्जु गुप्ता, निशा अधिकारी मानन्धर, विभा कर्ण, किरण वर्मा, आल्या श्रेष्ठ, रिमा दास,शुशिला सहनी, श्रेया सर्राफ,पुनिता ठाकुर प्रियंका गोंड लगायतलगायत सदस्यहरुको उपस्थिती थियो ।
करिब ५५ जना आश्रितहरुलाई चुरा र मेहन्दी लगाएर साउन महिनाको शुभकामना व्यक्त गरिएको कार्यक्रममा सहभागीहरुको अनुहारमा हर्ष र उमंग झल्किएको अध्यक्ष पिंकि गुप्ताले जानकारी दिईन ।

हिन्दू धर्ममा साउन महिना अत्यन्त पवित्र महिनाको रुपमा लिइन्छ। विशेषगरी महिलाहरु यो महिनाभर व्रत बसी हरियो चुरा, मेहन्दी, रातो पहिरन र पूजा(पाठमा सक्रिय रहने परम्परा रहिआएको छ। यिनै धार्मिक र सांस्कृतिक पक्षलाई ध्यानमा राख्दै सौन्दर्यकर्मी युनियनले समाजसेवा र धार्मिक आस्थाको समिश्रणस्वरुप यो कार्यक्रम गर्दै आएको युनियनका मधेश प्रदेश अध्यक्ष ओमकुमारी शर्माले जानकारी दिनुभयो । उहाँले युनियनका साथीहरुको आर्थिक सहयोगमा हरेक बर्ष झै यस बर्ष पनि आश्रमका आश्रितहरुलाई महेन्दी र चुरा लगउने काम सम्पन्न गरिएको बताईन । उहाँले बिगत ५ बर्षदेखि सो कार्य गर्दै आएको बताईन ।

युनियनकी सदस्य प्रियंका गोंडका अनुसार, यो कार्यक्रमले आश्रममा बसोबास गरिरहेका महिलाहरुलाई आत्मीयता र सामाजिक अपनत्वको भावना दिन सहयोग पुगेको छ।
उक्त अवसरमा मानव सेवा आश्रमले युनियन अध्यक्ष शर्मा र जिल्ला अध्यक्ष गुप्तालाई समाजसेवामा पुर्याएको योगदानप्रति सम्मान समेत प्रदान गरेको थियो। सम्मान समारोहले कार्यक्रममा थप उत्साह थपेको सहभागीहरुले बताएका छन्।

सौन्दर्यकर्मी युनियन पर्साले आगामी दिनमा यस्ता सामाजिक गतिविधिहरुलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
