२ फागुन, वीरगञ्ज । आज फेब्रुअरी १४, विश्वभर प्रेम, स्नेह र आत्मीयता साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साह र उल्लासका साथ मनाइँदै छ। पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको देखिन्छ ।
विशेषगरी युवायुवतीबीच अत्यधिक लोकप्रिय बनेको यस दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्ने तथा आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दो छ । रेस्टुरेन्ट, क्याफे, पार्क तथा सार्वजनिक स्थलहरूमा जोडीहरूको उपस्थितिले विशेष रौनक थपिएको देखिन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै भ्यालेन्टाइन डे मनाउने शैली पनि आधुनिक, सिर्जनात्मक र आकर्षक बन्दै गएको छ ।
‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो शताब्दीका सन्त सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास गरिन्छ । रोमन सम्राट क्लोडियस द्वितीयले सैनिकहरूलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए । यही कार्यका कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको इतिहासमा उल्लेख पाइन्छ। उनको बलिदान र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको मानिन्छ ।
नेपालमा पनि भ्यालेन्टाइन डे अघिको एक सातालाई ‘भ्यालेन्टाइन सप्ताह’का रूपमा मनाउने चलन बढ्दै गएको छ । फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा क्रमशः ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘हग डे’ र ‘किस डे’ मनाइँदै अन्तिम दिन भव्य रूपमा ‘भ्यालेन्टाइन डे’ मनाइन्छ ।
युवापुस्तामाझ लोकप्रियता बढ्दै जाँदा यस दिवसले नेपाली समाजमा नयाँ सांस्कृतिक बहससमेत जन्माएको छ । एकथरीले यसलाई प्रेम अभिव्यक्त गर्ने सकारात्मक अवसरका रूपमा लिएका छन् भने अर्काथरीले पश्चिमा संस्कृतिको प्रभाव बढेको टिप्पणी गर्ने गरेका छन् ।
यद्यपि, समयसँगै भ्यालेन्टाइन डे नेपाली शहरी जीवनशैलीको एक हिस्सा बन्दै गएको र प्रेम, सम्मान तथा आत्मीयता अभिव्यक्त गर्ने साझा अवसरका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।