नेशनल लघुबित्त वित्तीय संस्था लिमिटेडको टेडा पर्सा स्थित अनुगमन कार्यालयले बुधबार मानवसेवा आश्रममा फलफुल वितरण गर्दै आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ।
संस्थाको वार्षिकोत्सवको अवसरमा ५० भन्दा बढी पोका फलफुल आश्रममा आश्रय लिएका वृद्धवृद्धाहरुलाई वितरण गरिएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यबाट मानवसेवा आश्रमका आश्रितहरु लाभान्वित हुने अनुगमन कार्यालय टेडा, पर्साका वरिष्ठ अधिकृत दिलीप कुमार यादवले जानकारी दिए।
यादवले यसअघि पनि संस्थाले हरेक वार्षिकोत्सवमा विविध सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्दै, “मानव सेवामा आश्रित आमाबुबाहरूलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो। यस्तो पुनित कार्यमा सहभागी हुन पाउँदा हामीलाई गर्व लागेको छ,” भने।

फलफुल वितरण कार्यक्रममा मोतीसर शाखा प्रमुख रमेश कुमार गुरागाई, टेडा शाखा प्रमुख श्यामसुन्दर राई, लंगडी शाखा प्रमुख प्रदीप कुमार चौधरी, फेटा शाखा प्रमुख विनोद कुमार साह, सपही शाखा प्रमुख प्रदीप कुमार राउत, रगंपुर शाखा प्रमुख लक्ष्मण साह, तथा निजगढ बारा शाखा प्रमुख अमृता पौडेल लगायतको उपस्थिति थियो।
संस्थाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
