उपभोक्तालाई लोभ देखाएर कमसल चामल बिक्री, र राज्यलाई राजस्व छल्ने गम्भीर आरोपसँगै बीरगञ्जस्थित सगरमाथा एग्रो ट्रेडिङ्ग प्रा.लि. र यसको सञ्चालक उमेश अग्रवाल पुनः विवादमा आएका छन्। ‘नेवारी ब्रान्ड’ अन्तर्गत भारतबाट आयात गरिएको पुलाव बासमती चामलमा गरिएको कथित उपहार योजनाले अहिले चर्को आलोचना निम्त्याएको छ।
तामाको जगको नाममा टिफिन
सामाजिक सञ्जाल, विशेषतः टिकटकमा आकर्षक उपहारसहितको चामलको प्रचार गरिएको थियो— जसमा तामाको जग र स्टिलको थर्मस राखिएको दाबी गरिएको थियो। तर, उपभोक्ताले बोरा खोलेपछि भेटिएको सामग्रीले ती दाबीहरूलाई झुटो सावित गरिरहेको छ। अधिकांश ग्राहकले बोराभित्र सस्तो स्टिलको कचौरा र सामान्य टिफिन मात्रै पाएको गुनासो सार्वजनिक गरेका छन्।
भन्सार दस्तावेजमा उपहारको उल्लेखै छैन
भैरहवा भन्सार नाकाबाट चामल आयात भएको देखिए पनि उपहारका रूपमा बताइएका वस्तुहरू भन्सार दस्तावेजमा नदेखिनु, न त राजस्व तिर्नु
, झनै शंकास्पद भएको छ। स्रोतहरूका अनुसार, ती सामग्रीहरू छुट्टै गोदाममा राखेर बेचेको हुन सक्ने आशंका छ।

उपभोक्ता ठगी र राज्यविरुद्धको अपराध
उपभोक्ता हित संरक्षण मञ्च, मकवानपुरले यस विषयमा विज्ञापन बोर्ड, काठमाडौंमा उजुरी दर्ता गरिसकेको छ। उजुरीकै आधारमा विज्ञापन ऐन अनुसार कारवाही प्रक्रिया सुरु गरिएको पुष्टि भएको छ।मञ्चका एक पदाधिकारीले भने, “उपहार देखाएर घटिया चामल बेच्नु र राजस्व नतिरी सामान भित्र्याउनु दुबै गम्भीर अपराध हुन्। राज्यको आँखामा धुलो हालेर व्यापार चलाउनेलाई कारवाही हुनु पर्छ।”
के हुने छ कारवाही ? कि फेरि उम्कनेछन् ?
के उमेश अग्रवालजस्ता व्यापारी, जो भन्सार र व्यवस्थामा सेटिङ मिलाउँछन् भन्ने आरोप लागिरहेका छन्, कानुनी दायरामा पर्ने छन कि फेरि पनि यस्ता व्यापारिक गोरखधन्दा उन्मुक्ति पाउँदै निरन्तरता पाउने छन ।सरकार र सम्बन्धित निकायले कति गम्भीरता देखाउने हुन्, त्यसले उपभोक्ताको हित रक्षा मात्र होइन, व्यापारमा पारदर्शिता र विश्वसनीयताको सवाल पनि उठाउनेछ।