वीरगञ्ज समाज सेवा संस्थाले नारायणी अस्पताल परिसरमा ६२ औं हप्ताको निःशुल्क भोजन वितरण कार्यक्रम सफलता साथ सम्पन्न गरेको छ।
हरेक शनिबार नियमितरूपमा बिहान १० बजेदेखि सञ्चालन हुँदै आएको यस अभियानमार्फत अस्पतालमा उपचाररत बिरामीहरू, कुरुवाहरू तथा विपन्न, असहाय र अति गरीब वर्गका व्यक्तिहरूलाई सफा, शुद्ध र पोषिलो शाकाहारी भोजन उपलब्ध गराइन्छ।
संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक अशोक कुमार गुप्ताका अनुसार प्रत्येक हप्ता करिब ४५० देखि ५०० जनासम्मले यस सेवाबाट लाभ लिने गरेका छन्। उहाँले भन्नुभयो, “मानवसेवा नै सबैभन्दा ठूलो धर्म हो। इच्छाशक्ति र समर्पण भयो भने सेवाको भावनालाई समाजसम्म पुर्याउन सकिन्छ।”
आजको भोजनमा दाल, भात, तरकारी र अचार समावेश गरिएको थियो, जसलाई अत्यन्तै स्वच्छ र अनुशासित तरिकाले वितरण गरिएको थियो। सेवामा सहभागी स्वयंसेवकहरूले खाना वितरणको व्यवस्थापन प्रभावकारी तरिकाले गरेका थिए।
संस्थाका अनुसार हरेक हप्ताको भोजन कार्यक्रम सञ्चालन गर्न रु। ३०,००० देखि ३५,००० सम्म खर्च हुने गर्दछ, जुन संस्था सदस्य तथा पदाधिकारीहरूको व्यक्तिगत योगदान र स्थानीय दाताहरूको सहयोगबाट व्यवस्थापन गरिन्छ।
कार्यक्रममा वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ता, उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, कोषाध्यक्ष विनोद सर्राफ, सदस्यहरू अभिलाष कुमार गुप्ता ‘प्रकाश’, मदन प्रसाद गुप्ता, राजु रुङ्ग्टा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, बिरेन्द्र प्रसाद आर्य, हरेन्द्र प्रसाद, निसान्त लाठ, देवव्रत आर्या, राम बाबू र राधेश्याम गुप्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।