सामाजिक संजालमा चर्को आलोचना पछि वीरगंजको घण्टाघर नजिक रहेको मुख्य जेब्रा क्रसिङ्गमा अवरोधका रूपमा राखिएको बाँस ट्राफिक प्रहरीले हटाएको छ। सो फोटो सामाजिक संजालमा सार्वजनिक भएसँगै व्यापक जनदबाब सिर्जना भएपछि ट्राफिक प्रहरी कार्यालय, वीरगंजले तुरुन्तै सो कदम चालेको हो।
बिहीबार बिहान प्रहरी टोलीले उक्त बाँस हटाएपछि पैदलयात्रुहरूलाई बाटो काट्न सहज भएको छ। यसले सामाजिक संजालको प्रभावशाली भूमिकालाई पुनः पुष्टि गरेको छ।
वीरगंजको घण्टाघर क्षेत्र सहरको सबैभन्दा व्यस्त क्षेत्रमा पर्छ, जहाँ दैनिक हजारौँ सर्वसाधारणको आवाजाही हुन्छ। यही स्थानमा रहेको जेब्रा क्रसिङ्गमा केही दिनअघि ट्राफिक प्रहरीले नै बाँस राखेको थियो, जसले पैदलयात्रीको आवागमनमा अवरोध पुर्याएको थियो।
जेब्रा क्रसिङ्ग पैदलयात्रुहरूको सहज र सुरक्षित सडक पार गर्ने अधिकार सुनिश्चित गर्ने व्यवस्था हो। तर, त्यही स्थानमा राखिएको बाँसले न नियमको पालना हुन दियो, न त नागरिकहरूलाई सहजता।
उक्त अवरोधलाई पहिलोपटक क्रियाशील पत्रकार जगत राईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनले पोस्ट गरेको फोटो र विवरणले छोटो समयमा नै भाइरल रूप लियो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस कार्यको तीव्र आलोचना गर्दै ट्राफिक प्रशासनको गैरजिम्मेवार रवैयाको विरोध गरे।
धेरैले वीरगञ्जको छविलाई असर पार्ने यस्तो व्यवहार तत्काल सच्याइनुपर्ने माग गरे। त्यसैको फलस्वरूप प्रहरी प्रशासनले तुरुन्तै बाँस हटाउने निर्देशन दिएको थियो।ट्राफिक प्रहरी कार्यालय वीरगञ्जका एक अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा भनेmसार्वजनिक चासोको विषयमा समयमै प्रतिक्रिया जनाउनु हाम्रो दायित्व हो। यस्ता गल्तीहरू दोहोरिन नदिन अब निरन्तर अनुगमन गरिनेछ।
यस घटनाले के देखाएको छ कि नागरिक सचेतना र जिम्मेवार पत्रकारिताले प्रशासनलाई उत्तरदायी बनाउन सक्दछ। साथै, सामाजिक सञ्जाल केवल सूचना सञ्जाल मात्र नभई, जनदबाब निर्माण गर्ने प्रभावशाली माध्यम समेत भएको प्रमाणित भएको छ