काठमाडौं । मुलुकका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । २७ हजार ४ सय २५ पशुचौपाया यस रोगबाट संक्रमित भएका छन् ।
विभागका अनुसार लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ । यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ ।
६ असारदेखि २० साउनसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार १ सय २२ पशु संक्रमित भएको र ६ सय ३७ पशु मरेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
लम्पी स्किन संक्रमण मधेसका ८ जिल्ला, बागमतीको ५ जिल्ला, लुम्बिनीका ३ जिल्ला, गण्डकी र कर्णालीको १र१ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि नभएको विभागले जनाएको छ ।
विवरण अनुसार मधेशमा ४ हजार ४ सय ९२ पशु संक्रमित भएका छन् भने १ सय ७९ पशु मरेको छ । बागमतीमा लम्पी स्किन रोगबाट ३० पशु मरेको छ भने ७ सय ९३ पशु संक्रमित छन् ।
यस्तै लुम्बिनीमा १६ र गण्डकीमा ७ पशु यस रोगबाट संक्रमित भएको विभागको विवरणमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश बाहेक बाँकी ६ प्रदेशमा ५ लाख ६१ हजार ७ सय ५१ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।