इमानदारी र नैतिकताका दुर्लभ आवाज मानिने नेपाली राजनीतिज्ञ तथा विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा भदौ ७ गते शनिबार वीरगञ्जमा विशेष कार्यक्रम हुने भएको छ। प्रदीप गिरी इन्स्टिच्युट (PGI)ले शुक्रबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराएको हो।
“उत्साह र सङ्घर्षको आलोकमा : प्रदीप गिरिको सम्झना” शीर्षकमा हुने कार्यक्रममा नेपाल र भारतका मित्र, राजनीतिक अगुवा, विचारक, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
कार्यक्रम बिहान १०ः३० बजे वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा सुरु हुने र तीन चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण र उहाँको जीवन तथा विचारमाथि आधारित वृत्तचित्र प्रदर्शन हुनेछ। दोस्रो चरणमा स्वागत तथा स्मरण मन्तव्य रहनेछ भने तेस्रो चरणमा राजनीति, अर्थतन्त्र, संस्कृति र क्षेत्रीय सम्बन्धबारे प्यानल छलफल हुनेछ।
छलफलमा सीमावर्ती क्षेत्रको ऐक्यबद्धता, आर्थिक सहकार्य, साझा संस्कृति र युवालाई नवप्रवर्तनतर्फ उन्मुख गराउने विषयमा विचार–विमर्श गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा संस्थाका संयोजक कन्चन झाले (PGI)को उद्देश्यबारे प्रष्ट पार्दै भने, “प्रदीप गिरिको जीवन र विचारलाई जीवन्त राख्ने, न्यायसंगत र समावेशी समाज निर्माणका लागि अनुसन्धान, संवाद र क्रियाशीलतालाई प्रोत्साहन गर्नु हाम्रो ध्येय हो।”
कार्यक्रममा सहभागीहरूले गिरिको मूल्य–मान्यतालाई नयाँ पुस्तासम्म पुर्याउने तथा नैतिक राजनीति, सामाजिक न्याय र क्षेत्रीय सद्भावको यात्रालाई निरन्तरता दिने उदेश्य रहेको बताए ।
पत्रकार सम्मेलनमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, पत्रकार सुष्मा शर्मा लगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए।