संविधान दिवस–२०८२ को अवसरमा नेपाली कांग्रेस पर्साले शुक्रबार पार्टी कार्यालयमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेताहरूले संविधानलाई राष्ट्रिय एकता, लोकतन्त्र र समावेशी समाजको आधारका रूपमा प्रस्तुत गर्दै यसलाई पूर्ण कार्यान्वयन गर्न अझै धेरै प्रयास आवश्यक रहेको बताएका थिए । उनीहरूले संविधानलाई व्यवहारमै कार्यान्वयन गर्ने प्रक्रियामा राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण जनताको साझा प्रतिबद्धता अपरिहार्य रहेको पनि जोड दिए ।
समारोहको अध्यक्षता नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरी, ओमप्रकाश शर्मा, रामनारायण कुर्मी, इंत्याज आलम, दिनेश चौधरी, रमेश पाण्डे, प्रेम थापा, जिल्ला सदस्य धर्मेन्द्र कुमार पटेल, महिला नेतृ किरण शर्मा, आशा चौहान लगायतले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधानको रक्षा र कार्यान्वयनमा सबै दल र नागरिकले समान रूपमा योगदान दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संगठन लगायत पार्टीका विभिन्न तह–तप्काका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो । सहभागीहरूले संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाउनुपर्ने र यस दिवसले सबै नेपालीलाई सहकार्य र एकताको सन्देश दिने उल्लेख गरेका थिए ।
सो अवसरमा संविधान निर्माणदेखि यसको संस्थागत कार्यान्वयनसम्मका संघर्ष र उपलब्धिबारे विस्तृत चर्चा भएको थियो । सहभागीहरूले लोकतन्त्र, स्वतन्त्रता र समान अधिकारका लागि बलिदान दिने ज्ञात–अज्ञात सहिदहरूको योगदान सदैव अविस्मरणीय रहने प्रतिवद्धता व्यक्त गर्दै संविधान दिवसलाई शहिदहरूको स्मृतिसँग पनि जोडेर सम्मानपूर्वक मनाउनुपर्ने धारणा राखे ।