जनता समाजवादी पार्टी (जसपा)ले आगामी राजनीतिक रणनीति तय गर्दै पर्सा जिल्लामा संगठन सुदृढीकरण तथा जनस्तरमा सक्रियता अभिवृद्धिका लागि विशेष अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। बुधबार वीरगंजस्थित टाउन हलमा आयोजित उक्त भेलामा पार्टीका केन्द्रीयदेखि स्थानीय तहसम्मका नेताहरू, कार्यकर्ता तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमलाई पार्टी नेतृत्वले राजनीतिक दृष्टिले महत्वपूर्ण चरणका रूपमा लिएको छ।
कार्यक्रमका मुख्य अतिथि तथा जसपाका केन्द्रीय उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले पार्टी एकता, अनुशासन र जनसेवामा केन्द्रित भएर अघि बढ्न कार्यकर्ताहरूलाई आह्वान गरे। उनले जसपाको संगठनलाई जनतामाझ अझ सुदृढ बनाउँदै जनतामुखी नीति निर्माणमा कार्यकर्ताहरूको भूमिका निर्णायक हुने उल्लेख गरे।
“हामीले संगठन मात्र होइन, जनताको भरोसा पनि जित्नुपर्छ। त्यसका लागि एकता, अनुशासन र सक्रियतामा कुनै सम्झौता हुँदैन,” उनले जोड दिए। भेलामा केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, केन्द्रीय सदस्यहरू पुरूषोत्तम लाल झा, मोहनलाल चौधरी, जनार्धन यादव, जनत अन्सारी, सलमा खातुन र मधु माया यादवलगायतका नेताहरूको विशेष उपस्थिति थियो।

वक्ताहरूले जसपाले सामाजिक न्याय, समानता र समृद्धिको नारा बोकेको राजनीतिक दलका रूपमा जनतामाझ बलियो छवि बनाएको उल्लेख गर्दै जनआस्था अझ प्रगाढ बनाउन कार्यकर्ताहरूले संगठित रूपमा काम गर्नुपर्नेमा जोड दिए।अध्यक्ष तेलीको भनाइ स् “संगठनलाई जनस्तरमा पुर्याउने समय आएको छ”कार्यक्रम जसपा पर्सा जिल्ला अध्यक्ष सिंघासन साह तेलीको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष तेलीले स्वागत मन्तव्य दिँदै वर्तमान राजनीतिक परिस्थितिमा जसपाले संगठनलाई जनस्तरसम्म पु¥याएर स्थानीय समस्या समाधान र जनतामुखी नीति कार्यान्वयनमा अग्रणी भूमिका खेल्नुपर्ने औंल्याए। उनले पार्टीले जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम अघि सार्ने प्रतिबद्धता जनाए।
भेलामा सहभागी अगुवा कार्यकर्ताहरूले पार्टीको आगामी कार्यक्रम, संगठन विस्तार, युवा परिचालन तथा जनसेवामुखी अभियानका विस्तृत योजनाबारे गहिरो छलफल गरे। उनीहरूले पार्टी नीतिप्रति पूर्ण आस्था व्यक्त गर्दै एकजुट भएर अघि बढ्ने संकल्प जनाए।यो भेला जसपाले पर्सा जिल्लामा आफ्नो राजनीतिक आधार थप सुदृढ बनाउने, कार्यकर्ता सक्रियता बढाउने र जनतामाझ बलियो सन्देश पठाउने रणनीतिक तयारीका रूपमा लिएको बताइएको छ। पार्टीले यसै प्रकारका भेला अन्य जिल्लामा पनि गर्ने तयारी गरेको जनाएको छ।