वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्न उद्योगलाई दिएको अन्तिम समयसीमा आज आइतवार सकिँदैछ। समयसीमा भित्र बक्यौताको पहिलो किस्ता तिर्न वा किस्ताबन्दी सुविधा लिन नसकेका उद्योगको विद्युत् आपूर्ति काट्ने तयारी प्राधिकरणले गरेको छ।
प्राधिकरणका अनुसार असोज १२ गते प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गर्दै बक्यौता रकम बुझाउने नयाँ म्याद तोकिएको थियो। त्यहीअनुसार, आजसम्म पहिलो किस्ता बुझाउनुपर्ने समयसीमा अन्तिम दिन हो।
प्राधिकरणले केही उद्योगहरूले किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न थालेको जनाउँदै भनेका छ, “धेरै उद्योगले अझै पनि अटेरी गरेका छन्।”
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, हालसम्म ३१ वटा उद्योगले रकम तिर्न मञ्जुरीको प्रक्रिया सुरु गरेका छैनन्, तर ती उद्योग आउँनेमा प्राधिकरण आशावादी रहेको छ।
उनले भने, “हामीले पटक–पटक सूचना जारी गरेका छौं। आजको म्याद अन्तिम हो। समयमै किस्ता नबुझाउने उद्योगको बिजुली काट्न बाध्य हुनेछौं।”
प्राधिकरणका तथ्यांक अनुसार, २०७२ साल माघदेखि २०७५ साल वैशाखसम्म डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल उठाउने प्रक्रिया अघि बढाइएको हो। हालसम्म विभिन्न उद्योगहरूले नतिरेको बक्यौता रकम करीब आठ अर्ब २५ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार, यो रकम लामो समयदेखि तिर्न बाँकी रहेकाले आर्थिक दबाब सिर्जना भएको छ र त्यसैले किस्ताबन्दीको सुविधा दिँदै रकम उठाउने प्रयास गरिएको हो।
तर, उद्योगीहरूले भने आफूहरूले तिर्न बाँकी कुनै बक्यौता नरहेको दाबी गर्दै आएका छन्। उनीहरूले अस्ति शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयमा पत्र बुझाउँदै आफूहरूमाथिको प्राधिकरणको दाबी अन्यायपूर्ण रहेको बताएका छन्।
उनीहरूको भनाइमा, प्राधिकरणले माग गरेको प्रिमियम महसुल कानुनी रूपमा अन्यायपूर्ण र दोहोरो कर जस्तै भएको छ।
यद्यपि प्राधिकरणले उद्योगीहरूको आपत्ति अस्वीकार गर्दै सबैलाई समान रूपमा लागू हुने व्यवस्था अन्तर्गत रकम असुली गर्ने अडान दोहोर्याएको छ।
कार्यकारी निर्देशक सिलवालले भने, “विद्युत् सेवा सुविधा हो, अधिकार होइन। सुविधा लिई बक्यौता नतिर्ने उद्योगप्रति प्राधिकरण कठोर बन्नेछ।”
आज म्याद सकिएपछि बक्यौता नतिर्ने उद्योगहरूको सूची तयार गरी क्रमशः बिजुली आपूर्ति काट्ने कार्य अघि बढाइने प्राधिकरण स्रोतले जनाएको छ।