शुभ दीपावलिको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल वीरगंजले मिठाई वितरण गर्दै शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
संघ परिवारको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी प्रशासनका प्रतिनिधि, मन्दिरका पुजारी–महन्त, सडकमा बस्ने असहाय परिवारहरू, र नारायणी अस्पतालमा बिरामीका कुरुवाहरूसम्म मिठाई वितरण गरिएको थियो। संघले दिपावलीको खुसी सबैसँग साट्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य समाजका सबै वर्गबीच “साझा खुसी र पारिवारिक एकताको भावना” फैलाउने रहेको संघका पदाधिकारीहरूले बताए। उनीहरूले हिन्दु धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि एकता र सहकार्य अत्यावश्यक रहेको उल्लेख गर्दै संघले सामाजिक तथा धार्मिक परम्पराको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए।
संघले विगत पाँच वर्षदेखि निरन्तर रूपमा यस्ता सेवा–भावनायुक्त कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस वर्ष पनि संघले सीमामा खटिएका सुरक्षा निकायका कर्मचारीहरू, नारायणी अस्पतालका बिरामीका कुरुवाहरू, र असहाय परिवारहरूलाई दीपावलिको मिठाई वितरण गरेको जनाएको छ।
लक्ष्मीपूजाको दिन विभिन्न स्थानहरूमा मिठाई वितरणसँगै शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ।
कार्यक्रममा सहभागी स्वयंसेवकहरूले “नेपाल हाम्रो आमा हो, हामी सबै नेपाली एउटै परिवारका सन्तान हौं। हाम्रो संस्कार र संस्कृति हामी सबै मिलेर जगेर्ना गरौं” भन्ने सन्देश प्रवाह गरेका थिए।