मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शनिबार विश्वासको मत लिन लागेका छन्। यही कात्तिक २२ गते शनिबार विश्वासको मतको लागि आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्री सोनलले आज, बुधबार, प्रदेशसभालाई पत्र पठाएका हुन्।सोनल नेपालको संविधानको धारा १६८ को उपधारा अनुसार विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत पाउँदा उनी मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारका विषयमा सत्ता साझेदार दलसँग सहमति गर्ने तयारीमा छन्। सत्ता साझेदार दलहरूले विश्वासको मतका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)सँग पनि सहयोग माग्ने योजना बनाएका छन्।
सोनल ५ दलका ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तीमध्ये जनमत पार्टीका १३ सांसद थिए, तर हाल दुई सांसद जनस्वराज पार्टीमा गए र जसपा सांसद सरोज सिंह कुशवहा निलम्बित भएका कारण सुरुआती ५६ मतमा तीन मत घटेका छन्।
यसबीच, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सरकारलाई समर्थन दिने भएका छन्। दुबै दलका एक–एक सदस्यको समर्थनसँगै सोनल सरकारको विश्वासको मत संख्या ५५ पुग्ने अनुमान गरिएको छ।
प्रदेशसभामा हाल १०४ सदस्य सक्रिय छन् र बहुमतका लागि ५३ मत आवश्यक पर्छ। यसअनुसार, सोनल नेतृत्वको सरकारलाई बहुमत प्राप्त हुने देखिन्छ।
हालको सरकारमा जसपा नेपालका १८, जनमत पार्टीका ११, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा (एकीकृत समाजवादी) का ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सदस्य सहभागी छन्।
प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस र जनस्वराज पार्टी प्रतिपक्षमा रहने तयारीमा छन्। जनस्वराज र राप्रपा का सांसदहरू तटस्थ रहने योजना बनाएका छन्।