वीरगंज उद्योग वाणिज्य संघले बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ९सेज० को स्थलगत अध्ययन तथा अवलोकन गरेको छ। संघका अध्यक्ष हरि गौतमको नेतृत्वमा गएको पदाधिकारी तथा कार्यसमितिको टोलीले सोमबार सेजको भौतिक संरचना, सञ्चालन अवस्था र औद्योगिक पूर्वाधारको विस्तृत अवलोकन गरेको हो।
अवलोकन टोलीलाई सिमरा विशेष आर्थिक क्षेत्रका कार्यालय प्रमुख र प्राविधिक अधिकारीहरूले सेज स्थापना उद्देश्य, वर्तमान प्रगति, औद्योगिक प्लट वितरण, उद्योग दर्ता प्रक्रिया र निजी क्षेत्रका लागि उपलब्ध सहुलियतबारे जानकारी गराएका थिए। टोलीले सेजमा भइरहेको निर्माण कार्य, बाटो, विद्युत् आपूर्ति, ढुवानी प्रणाली तथा लगानीकर्तालाई आवश्यक पर्ने अन्य पूर्वाधारहरूको पनि प्रत्यक्ष अध्ययन गरेको थियो।
संघका अध्यक्ष गौतमले सेज अवलोकनपछि भन्नुभयो, “सिमरा विशेष आर्थिक क्षेत्र देशको औद्योगिकीकरण र रोजगारी सृजनाको दृष्टिले रणनीतिक महत्वको परियोजना हो।” उहाँले सेजको प्रभावकारी सञ्चालनका लागि पूर्वाधार विकास, कानुनी स्पष्टता र लगानीमैत्री वातावरण अझै सुदृढ गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो।
संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले वीरगंज उद्योग वाणिज्य संघले सिमरा सेजमा देखिएका चुनौती र सुधारका सम्भावनाबारे सम्बन्धित मन्त्रालय तथा सेज प्राधिकरणसँग छलफल गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
अवलोकनका क्रममा टोलीले सेज क्षेत्रमा उद्योग स्थापनाको तयारीमा रहेका केही उद्योग प्रतिनिधिहरूसँग पनि भेटघाट गरेको थियो। उनीहरूले विद्युत् आपूर्ति, कच्चा पदार्थ ढुवानी, कर सुविधा र प्रशासनिक प्रक्रिया सम्बन्धी केही चुनौतीहरू औंल्याएका थिए।
संघका पदाधिकारीहरूले सेजको दिगो सञ्चालनका लागि निजी क्षेत्र, संघीय र प्रदेश सरकारबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्।
अवलोकन टोलीमा संघका उपाध्यक्ष आषिश लाठ, महासचिव शिवजी प्रसाद साह, कोषाध्यक्ष अनोज रुंगटा, सहसचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष निरज अग्रवाल, सहसचिव अनुप अग्रवाल, कार्यसमिति सदस्य मुरली जलान, प्रकाश खण्डेलवाल, सुमन क्याल, र पत्रकार प्रणय कुमार लगायतको उपस्थिती रहेको थियो।