चीनमा ‘थर्मल्ली प्रोसेस्ड कुक्ड बफेलो मिट’ (प्रशोधित भैंसीको मासु) निर्यात गर्ने उद्देश्यले सुरु भएको मेगा प्रोजेक्ट हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडले यहि महिनादेखि कारखाना निर्माण गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडका अनुसार गत भदौको अन्तिम सातामा भएको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिलाई मध्यनजर गरी लगानी गर्न बिच्किएका चिनियाँ साझेदार कम्पनी पुनः लगानी गर्न तयार भएपछि कारखाना निर्माण सम्बन्धी प्रक्रिया सुरु भएको हो ।
गत भदौ २३ अघिसम्म चिनियाँ साझेदार कम्पनी हेङ्दु जियान फूड लिमिटेडका अधिकारीहरु नेपालमै भए पनि जेनजी आन्दोलन पश्चात् उत्पन्न भएको परिस्थितिका कारण उनीहरु लगानी नगर्ने मनस्थिति बनाएर चीन फर्केका थिए ।उनीहरू स्वदेश फिर्ता गएपछि यो मेगा प्रोजेक्टको सबै काम प्रभावित भएको थियो ।
नेपालको साझेदार कम्पनी हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडका परियोजना प्रमुख डा। नवीन शर्माका अनुसार उक्त आन्दोलनपछि चीन फर्केका चिनियाँ टोलीले त्यहाँका उपल्ला अधिकारीलाई नेपालको अवस्था तत्कालको लागि निक्कै जोखिमपूर्ण भएको भन्दै ‘ब्रिफिङ’ गरेका थिए ।
‘चिनियाँ टोली फर्केपछि आफ्ना उपल्ला अधिकारीलाई नेपालको अवस्था जोखिम र चुनौतीपूर्ण भएको भन्दै तत्कालको लागि लगानी लगाउन कठिन रहेको ब्रिफिङ गरेका थिए, त्यो ब्रिफिङपछि चीनका साझेदार कम्पनीले नेपालमा लगानी नगर्ने मनस्थिति बनाइसकेका थिए,’ शर्माले भने, ‘यस्तै प्रोजेक्ट पाकिस्तानमा सुरु गर्ने क्रममा त्यहाँ पनि लगानी गर्ने वातावरण नभएको समस्या यो कम्पनीले व्यहोरिसकेका थिए ।’
बल्लबल्ल निर्माण कार्य सुरु हुनै लाग्दा जेनजी आन्दोलनका कारण बिच्किएका चिनियाँ कम्पनीलाई मनाउन शर्मा आफैं चीन पुगेका थिए ।
‘चीन पुगेर त्यहाँको साझेदार कम्पनीका उच्च तहका साथै चिनियाँ सरकारसँग पनि छलफल गर्यौं । आन्दोलनपश्चात् नेपालको वातावरणमा विस्तारै सुधार आउन थालेको जानकारी गराउँदै लगानी भित्र्याउन सहयोग माग्यौंं,’ परियोजना प्रमुख डा। शर्माले भने, ‘नेपालको वातावरण विस्तारै राम्रो हुँदै गएको उनीहरु आश्वास्त भएपछि फेरि लगानी गर्न तयार हुनुका साथै स्वदेश फर्केका टोली नेपाल फर्केपछि अहिले आवश्यक प्रक्रिया अघि बढेको हो ।’
नेपाल फर्केको चिनियाँ प्रतिनिधि टोलीले हिमालयन फूड इन्टरनेशनलमा साझेदारी भित्र्याउने निर्णय गर्नुका साथै यो कम्पनीको अध्यक्षको जिम्मेबारी चीनको हेङ्दु जियान फूड लिमिटेडका प्रतिनिधि बु स्याङलाई दिनुका साथै हिमालयन फूड इन्टरनेशनलको ७८ प्रतिशत सेयरसमेत जियान कम्पनी र २२ प्रतिशत सेयर हिमालयन फूडसँग रहने व्यवस्था गरियो ।
यस्ता नीतिगत समस्या समाधानपश्चात् शर्मा नेपाल फर्केका थिए । यता नेपालको अस्थिर अवस्थामा समेत क्रमिक रुपमा सुधार हुँदै गएको थियो । उनी नेपाल फर्केलगत्तै चिनियाँ प्रतिनिधि टोलीसमेत नेपाल आइसकेका छन् ।
‘कात्तिकदेखि विभिन्न चरणको काम द्रुतगतिमा सुरु भएको छ । अहिले बल्ल जग्गा पास, एफडीआई भित्र्याउने, ईआईए र कारखाना निर्माण लगायतका प्रक्रिया सुरु भएको छ,’ शर्माले भने ।
परियोजना सुरु गर्न, कारखाना निर्माण र प्रशोधनपश्चात् तयार भएको थर्मल्ली प्रसोस्ड कुक्ड बफेलो मिट निर्यातका लागि चिनियाँ साझेदार कम्पनीसँग भएको लगानी सम्झौताअनुसार प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० वापतको रकम आगामी सोमबारसम्म निकासा गर्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको उनले बताए ।
नेपालको हिमालयन फूड इन्टरनेशनल प्राइभेट लिमिटेडले चीनको सांघाई जियान पव्लिक लिमिटेडको सहायक कम्पनी हेङ्दु जियान फूड लिमिटेडको आर्थिक सहयोगमा अत्याधुनिक पूर्ण स्वचालित प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री निर्माण गरी सञ्चालनमा ल्याउन लागेको छ ।
सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ४ को साहान भन्ने स्थानमा सञ्चालनमा आउने यो कारखाना निर्माण र सञ्चालन गर्न कूल २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार नेपाली रुपैयाँ लगानी हुनेछ । २० अर्ब रुपैयाँ कारखाना निर्माण र प्लान्ट राख्न खर्च हुनेछ । यस्तै ७ अर्ब रुपैयाँ पशुपालन, पशुपालनको लागि आवास, कामदार बस्ने आवास र घाँस खेतीमा खर्च हुनेछ ।
२७ अर्ब रुपैयाँमध्ये २० अर्ब रुपैयाँ चीनको हेङ्दु जियान फूड लिमिटेडबाट एफडीआईमार्फत भित्र्याउन लागिएको छ । उद्योग विभागले गत साउन ८ गते यो एफडीआई भित्र्याउन स्वीकृति प्रदान गरेको थियो ।
‘अहिले २० अर्ब रुपैयाँको एफडीआई भित्र्याउने प्रक्रियामा छौं, बाँकी रहेको ७ अर्ब रुपैयाँमध्ये केहि प्रतिशत चिनियाँ साझेदारबाट थप र बाँकी नेपाली साझेदार कम्पनीले जुटाउने तयारी भएको छ,’ शर्माले भने, ‘७ अर्बमध्ये अहिलेलाई २ अर्ब रुपैयाँ चिनियाँ साझेदार कम्पनीबाट एफडीआईमार्फत भित्र्याउने प्रक्रिया सुरु गरेका छौं ।’
शर्माका अनुसार यो अवधीमा कारखाना, आवास गृह, होल्डिङ सेन्टर, प्रशोधन गृह निर्माण गर्न आवश्यक पर्ने जग्गा व्यवस्थापन गर्ने प्रक्रियालाई अघि बढाइएको छ ।
बैना गरिएको ६९ विगहा जग्गामध्ये हालसम्म १७ विगहा जग्गा मालपोतबाट कम्पनीको नाममा पास भएको छ । जग्गा व्यवस्थापनका लागि खर्च भएको करिब २ अर्ब रुपैयाँ नेपाली साझेदारी कम्पनी हिमालयन फूड इन्टरनेशनलले लगानी गरेको छ।
६९ बिगाहामध्ये ५४ बिगाहामा प्रशोधन प्लान्टसहित कारखाना, कार्यालय र आवास गृह निर्माण हुनेछ । बाँकी जग्गामा राँगाभैंसी राख्ने होल्डिङ सेन्टर र घाँस उमार्न प्रयोग हुनेछ ।
कारखानाको निर्माण कार्य सुरु भएलगत्तै एनिमल म्याजमेन्ट, होल्डिङ सेन्टर र घाँस उत्पादन पनि सामानान्तर रुपमा सुरु हुने उनले जानकारी दिए । त्यसपछि एनिमल कलेक्सन र फार्मिङ गर्ने काम सुरु हुनेछ ।
निर्माण सकिएलगत्तै पर्याप्त परिमाणमा राँगा भैंसीकोे उपब्धता सुनिश्चित गरिनेछ । चिनियाँ पक्षले आगामी २०२६ को जुनसम्ममा कारखानाको निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको छ । तर विविध प्राविधिक कारणले निर्माण कार्य आगामी २०२६ सेप्टेम्बरसम्ममा सकिने कार्यतालिका बनेको छ ।
‘यहि महिनाको अन्तिम सातादेखि निर्माण कार्य सुरु गर्ने गरी द्रुत गतिमा काम गरिरहेका छौं, डिजाइनको काम सकिएको छ । ईआईएको प्रक्रिया पनि सुरु भइसकेको छ, ईआईए सक्न लामो समय लाग्ने भएपछि हामीलाई यो प्रक्रिया सुरु भएको २ महिनापछि टिओआर दिने कुरा भएको छ,’ उनले भने, ‘ईआईए सक्ने अवधििसम्म कारखानाको निर्माण प्रक्रियालाई रोक्न सक्दैनौं । यसको लागि ईआईएमा कुनै समस्या आयो भने वा ईआईएले कुनै जटिल भाग, संरचना वा मेसिनरी हटाउन तथा भत्काउन दिइएको सुझावअनुसार पूर्वशर्त पालना गर्ने गरी निर्माण कार्य अघि बढाउन लागेका छौं ।’
यस्तो शर्तसहितको टिओआर मंसिरभित्र प्राप्त हुने उनले जानकारी दिए ।
कारखाना निर्माणपछि मासु सिन्धुलीबाट काठमाडौं हुँदै केरुङ नाकामार्फत चीनमा निर्यात हुनेछ । यो परियोजनामार्फत यो उद्योगबाट ५ हजार १ सय ५६ जनाले रोजगारी पाउनेछन् ।
सुरुवाती समयमा २ सय चिनियाँ प्राविधिक रहने र बाँकी कर्मचारी नेपाली हुने उनले बताए । किसानलाई व्यवसायिक र रोगमुक्त भैंसीपालनमा आकर्षित गर्न देशभर भैंसीपालक समूह गठन गरिएको छ । यस्तै बर्दियाको गुलरियामा घाँस उत्पादन गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ ।
सम्झौताअनुसार यो कारखाना निर्माण भएपछि दैनिक पाँच हजार गोटा राँगा तथा भैंसी ९५ सय मेट्रिक टन० का दरले वार्षिक १ खर्ब ५० अर्ब रुपैयाँबराबरको झण्डै २ लाख मेट्रिक टन प्रोसेस्ड कुक्ड बफेलो मिट निर्यात चीनमा निर्यात हुनेछ ।
उनका अनुसार वार्षिक २ लाख मेट्रिक टन प्रोसेस्ड बफेलो मिट र ५५ हजार मेट्रिक टन सहउत्पादन ९हाड, छाला, टाउको, विभिन्न प्रकारका आन्तरिक अंगलगायत० उत्पादन गर्ने लक्ष्य यो कारखानाले लिएको छ ।
पर्याप्त परिमाणमा राँगा भैंसीको उपलब्धता भएपछि दैनिक ९ सय मेट्रिक टन बफेलो मिट निर्यात गर्ने लक्ष्य राखिएको छ । दैनिक ९ सय मेट्रिक टनको दरले वार्षिक २ खर्ब ७० अर्ब रुपैयाँबराबरको यो मिट निर्यात हुने शर्माले जानकारी दिए ।