बाराको जितपुर सिमरा उपमहानगरपालिका–१९ मधुरापुरस्थित ब्रहम बाबा मन्दिर संरक्षण समितिलाई समाजसेवी तथा पाँच पटकका वडा अध्यक्ष नगिना साहले एक कठ्ठा जग्गा दान गरेका छन्। मुख्य सडक छेउमै रहेको मूल्यवान् जग्गा दान भएपछि स्थानीय बासिन्दामाझ खुसीयाली छाएको छ।
मन्दिर परिसरमा आयोजित विशेष दान कार्यक्रम मन्दिर व्यवस्थापन समिति, स्थानीय अगुवाहरू तथा वडावासीको उपस्थितिमा सम्पन्न भएको थियो। जग्गा पास भएको जानकारी सार्वजनिक हुनासाथ स्थानीयले साहको धार्मिक समर्पणप्रति कृतज्ञता व्यक्त गरेका छन्।
समाजसेवी साहले धार्मिक स्थलहरूको संरक्षण र विकास सामुदायिक सहयोगले सम्भव हुने भन्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। उनले आफ्नो तथा श्रीमती गीता देवीको मनोकामना पूरा भएको उल्लेख गर्दै, दान गरिएको जग्गा मन्दिर विस्तार, धर्मशाला निर्माण तथा भक्तजनका सुविधागत व्यवस्थापनमा उपयोग हुने आशा व्यक्त गरे।
वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र कुमार छेत्रीले धार्मिक तथा सांस्कृतिक विकासमा साहले पु¥याएको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। वडा सदस्य मदन साह तेलीले समेत दाताको यो योगदान सारा वडावासीका लागि प्रेरणादायी रहेको बताए।
ब्रहम बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष लालबाबु साहले यस्ता दानदाताहरूको सहयोगले धार्मिक–सांस्कृतिक धरोहरको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीय पासपत पास्वानले समाज र संस्कृतिप्रति समर्पित साहको कदमलाई आदर्शको रूपमा स्वागत गरे।
सचिव भरोश दास थारूका अनुसार, कार्यक्रममा पाँच सयभन्दा बढी स्थानीय नागरिक सहभागी भएका थिए। समितिले दान प्राप्त जग्गामा योजनाबद्ध रूपमा निर्माण तथा विकास कार्य अघि बढाइने जनाएको छ।