सर्वोच्च अदालतमा भएको आगजनी प्रकरणको विषयलाई लिएर प्रहरीले नेपाल ल क्याम्पसका पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति तथा पूर्वमाओवादी नेता विष्णु ढुंगेललाई पक्राउ गरेको छ। जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगो लगाइएको घटनामाथि अनुसन्धान विस्तार गर्दै गएको प्रहरीले ढुंगेललाई उक्त घटनामा निर्देशन दिने मुख्य अभियुक्तका रूपमा शंका गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले ढुंगेललाई काठमाडौंकै एक स्थानबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार आगजनी भएको दिन ढुंगेल सर्वोच्च परिसर वरिपरि देखिएका थिए र घटनाको निर्देशन उनले नै दिएका थिए भन्ने प्रारम्भिक सूचनाका आधारमा विस्तृत छानबिन अघि बढाइएको छ।
यसअघि सर्वोच्च अदालतमा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा झापाका ज्योति थापा घताने ९२८० र ललितपुरका सुशील श्रेष्ठ ‘ब्राउन’ ९३०० लाई प्रहरीले पक्राउ गरिसकेको थियो। यी दुवैले प्रारम्भिक बयानमा “अरुकै उक्साहटमा घटनास्थल पुगेको” बताएका थिए। प्रहरी स्रोतका अनुसार, पक्राउ परेकाहरू र ढुंगेलबीच घटनाअघि र पछि समेत सम्पर्क भएको प्रमाण भेटिएपछि अनुसन्धान टोली ढुंगेलतर्फ केन्द्रित भएको थियो। यही आधारमा उनलाई पक्राउ गरी थप सोधपुछ अघि बढाइएको छ।
आगो लगाइएको दिनपछि विष्णु ढुंगेल सार्वजनिक रूपमा देखिएका थिएनन्। प्रहरीले उनलाई खोजी कार्यलाई तीव्र बनाउँदै आएको थियो। अन्ततः टेकुस्थित अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई पक्राउ गरी थुनामा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। सर्वोच्च अदालतजस्तो संवैधानिक तहको संरचनामै आगजनी हुनु कानूनका निकायका लागि गम्भीर चुनौती बनेको छ। सामान्य विद्यार्थी आन्दोलनका नाममा न्यायालयलाई निशाना बनाएको घटनाले राजनीतिक वृत्त, कानुन व्यवसायी तथा नागरिक समाजसँगै कानुनी सुरक्षा संरचनामाथि पनि प्रश्न उठाएको छ।
प्रहरीले अहिले घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान विस्तार गरेको छ। ढुंगेललाई अदालतबाट म्याद थप गरी थप प्रमाण संकलन, मोबाइल र सिसिटिभी विश्लेषण, आर्थिक लेनदेन तथा सम्पर्क विवरणको आधारमा आगजनीका निहित उद्देश्य र सम्भावित योजनाबारे अनुसन्धान जारी राखिएको छ।