काठमाडौं । हङकङको ताइ पो क्षेत्रस्थित एक आवासीय परिसरमा बुधबार भीषण आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने २७९ जना अझै बेपत्ता बनेका छन् ।
बिहीबार बिहानसम्म उक्त आवासीय कम्प्लेक्सका आठ ब्लकमध्ये चार ब्लकमा आगो नियन्त्रणमा ल्याइएको छ भने बाँकी ब्लकहरूमा दमकलकर्मीहरूले कडा मेहनतका साथ आगो निभाउने प्रयास गरिरहेका छन्। केही ब्लकमा बिहानसम्म पनि आगलागी नियन्त्रणमा लिन सकिएको छैन ।
दमकल विभागका अनुसार, बिहीबार साँझसम्म सबै ब्लकमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइने अपेक्षा गरिएको छ।
रोयटर्सका अनुसार आगो वाङ फुक कोर्ट नामक हाउसिङ कम्प्लेक्समा लागेको हो, जसमा आठवटा ब्लक र करिब दुई हजार फ्ल्याट छन्।
हङकङ सरकारका अनुसार आगो स्थानीय समय अनुसार बुधबार दिउँसो २ः५१ बजे लागेको थियो । चीफ एक्जेक्युटिभ जोन लीका अनुसार अस्पतालमा भर्ती ४५ जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमध्ये एक अग्नि–नियन्त्रक वाई–हो पनि थिए।
दमकल विभागका निर्देशक एनडी युंगले वाई–होको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। अर्को एक फायरफाइटर पनि गम्भीर घाइते अवस्थामै अस्पतालमा उपचाररत छन्।
कुल ८०० भन्दा बढी फायरफाइटरहरू घटनास्थलमा खटिएका छन्। ताइ पो ट्रेन स्टेशनबाट निस्कँदा नै धुवाँको तीव्र गन्ध महसुस हुने गर्दछ। स्टेशन घटनास्थलबाट करिब ५०० मिटर दूरीमा स्थित छ।
ताइ पोका जिल्ला परिषद सदस्य मुइ सिउ–फङका अनुसार करिब ९५ प्रतिशत मानिसलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। छेउछाउका तीन ब्लक पनि खाली गरिएका छन् र प्रभावितलाई कम्युनिटी सेन्टरहरूमा सारिएको छ।
पूर्व जिल्ला परिषद सदस्य हर्मन टियु क्वान होले स्थानीय सञ्चार माध्यमलाई बताए अनुसार आसपासका अन्य भवनहरू पनि खाली गरिएका छन्, घाइतेहरूको लागि हेल्पलाइन सुरु गरिएको छ र अस्थायी आश्रयस्थलहरू खोलिएका छन्।
यातायात विभागका अनुसार धेरै सडक बन्द गरिएका छन् र ३० भन्दा बढी बस रुटलाई आगलागी क्षेत्रबाट पर सारिएको छ।
वाङ फुक कोर्टका फ्ल्याटहरू सामान्यतया ४००–५०० वर्गफुटका हुन्छन्। यो कम्प्लेक्स समुद्रकिनार र मुख्य राजमार्ग नजिक छ, जहाँ करिब ४,६०० मानिस बसोबास गर्छन्।
आगो तीव्र रूपमा फैलिनुका पछाडि भवन बाहिरको निर्माण कार्य कारण बनेको प्राथमिक अनुसन्धानमा देखिएको छ। भवनहरू स्क्याफोल्डिङ (बाँस) ले ढाकिएको थियो।
यसै घटनामा एक इन्जिनियरिङ कन्सल्टेन्टसहित तीन जनालाई गिरफ्तार गरिएको छ। भवनका झ्यालहरूमा फेला परेका पोलिस्टाइरिन बोर्डले आगो झनै फैलिएको प्रारम्भिक अनुमान छ।
आगोको स्तर ‘ग्रेड ५’ वर्गमा राखिएको छ, जुन १ देखि ५ को स्केलमा दोस्रो सबैभन्दा उच्च श्रेणी हो। चीनका राष्ट्रपति सी जिनपिङले आगलागीमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
आगामी ७ डिसेम्बरमा हुन लागेको हङकङ विधान परिषद चुनावसमेत आगलागीको घटना भएपछि सबै दलले अस्थायी रूपमा स्थगित गरेका छन्।