अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसबाट दुई ब्लकभन्दा कम दूरीमा दुई जना नेसनल गार्डका सैनिकमाथि गोली प्रहार गरिएको छ। यो आक्रमणमा घाइते भएका दुवै सैनिकको अवस्था गम्भीर रहेको छ।
बुधबार अपराह्न वेस्ट भर्जिनियाका दुई नेसनल गार्डमाथि एक व्यक्तिले गोली चलाएको प्रहरीले पुष्टि गरेको छ। गोलीको आवाज सुनेपछि नजिकै रहेका अन्य नेसनल गार्डका सदस्य तत्कालै घटनास्थलमा पुगे र आक्रमणकारीलाई नियन्त्रणमा लिए।
आक्रमणपछि केही समयका लागि ह्वाइट हाउस क्षेत्रलाई लकडाउन गरिएको थियो।
घटना हुँदा फ्लोरिडामा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारी अफगान नागरिक रहेको र सन् २०२१ सेप्टेम्बरमा अमेरिका प्रवेश गरेको बताए। उनले यस घटनालाई ‘दुष्ट र आतंककारी’ कदम भन्दै संलग्नहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। साथै, बाइडन प्रशासनकालीन अफगान आप्रवासी प्रवेश प्रक्रियाको पुनः मूल्यांकन आवश्यक रहेको टिप्पणी गरे।
नेसनल गार्डका सदस्य दिउँसो करिब २ः१५ बजे फ्यारागुट स्क्वायर मेट्रो स्टेसन नजिक गस्तीमा रहेका बेला उनीहरूलाई लक्षित गरी आक्रमण भएको हो। कार्यालय समय भएकाले सडक अत्यन्तै व्यस्त थियो।
मेट्रो प्रहरीले दिएको जानकारी अनुसार आक्रमणकारी सडकको कुनाबाट आएर गोली चलाएको थियो। पक्राउ परेका आक्रमणकारी २९ वर्षीय रहमानुल्लाह लाकनवाल हुन्। उनलाई नियंत्रणमा लिँदासम्म चार वटा गोली लागेको बताइएको छ। प्रयोग भएको हतियार र आक्रमणको उद्देश्य भने खुल्न बाँकी छ।
घटनास्थलका प्रत्यक्षदर्शीहरूले पहिला दुई र त्यसपछि तीन पटक गोली चलेको सुनिएको बताएका छन्। एक प्रत्यक्षदर्शीद्वारा खिचिएको भिडिओमा दुई सैनिक युनिफर्ममै सडकमा लडिरहेका र स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ। नजिकै आक्रमणकारीलाई पनि उपचार दिइँदै गरिएको थियो।
हाल वासिङ्टन डिसीमा करिब २२ सय नेसनल गार्ड तैनाथ छन्। उनीहरूलाई प्रहरीसरह कानुन लागू गर्ने वा पक्राउ गर्ने अधिकार छैन।
ट्रम्पले गत अगस्टमा ‘नियन्त्रण बाहिरको अपराध’ रोक्न नेसनल गार्ड परिचालन गरेका थिए। त्यसयता अपराध दर घटेको देखिए पनि यो कमी नेसनल गार्डकै कारण हो वा होइन भन्ने स्पष्ट भएको छैन।
प्रहरी तथ्यांकअनुसार मे २५ देखि नोभेम्बर २५ सम्म ६२ हत्या दर्ता भएका छन्, गत वर्ष सोही अवधिमा १०७ थियो। त्यसैगरी अगस्ट १२ देखि अहिलेसम्म ६,५०० भन्दा कम आपराधिक घटना दर्ता भएको छ, जुन गत वर्षको करिब ९,५०० को तुलनामा कम हो।
यसअघि पनि ट्रम्प प्रशासनले लस एन्जेलस, सिकागो, मेम्फिसलगायतका डेमोक्र्याट–नेतृत्व राज्यहरूमा नेसनल गार्ड परिचालन गरेको थियो।