तेजाब आक्रमणबाट बचेर देशभरका युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी मुस्कान खातुनले आफ्नो जीवनको पीडा र दृढतामाथि फेरि एकपटक स्पष्ट सन्देश दिएकी छिन्—“मेरो अनुहार जलायो, तर मेरो सपना कसैले जलाउन सकेन।” बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा कार्यक्रममा उपस्थित हजारौं कार्यकर्ता तथा युवा पुस्ता सामु बोल्दै उनले यो अभिव्यक्ति राखेकी हुन्। राजनीतिक रूपमा नयाँ यात्रा थालेकी मुस्कानको सम्बोधनले सभागृहमा उपस्थित धेरैलाई भावुक र प्रेरित दुवै बनाएको थियो।
“तेजाबले घाउ बनायो, तर संघर्षले शक्ति दियो” सम्बोधनको सुरुआतमै उनले ती कठिन क्षणहरू स्मरण गर्दै भनिन्,“जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाएको छ—तर मेरा सपनाहरू नजलेका छन्, मेरा पाइला रोकिएका छैनन्।”उनको आवाजमा पीडा थियो, तर त्यसभन्दा धेरै दृढता झल्किन्थ्यो। मुस्कानले पाँच वर्षसम्म लगातार तेजाब आक्रमणका घटनाविरुद्ध लडेकी थिइन्। उनको निरन्तर संघर्षका कारण नेपालमा तेजाब बिक्री, वितरण तथा दण्ड–दण्डहीनताबारे कडा कानुनी व्यवस्था लागू भएको उल्लेखनीय उपलब्धि मानिन्छ।
अपने सम्बोधनमा मुस्कानले अहिलेको पुस्तालाई ‘देश परिवर्तनको मुख्य शक्ति’ भन्दै जेनजी ९न्भल(श्० पुस्तालाई उद्देश्य गरेर विशेष आव्हान गरिन्।“सम्पूर्ण जेनजीलाई भन्न चाहन्छु—जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुस्। परिवर्तन अवश्य हुन्छ, यदि हामी एक भएर उभियौं भने।” उनीका अनुसार युवा पुस्ताको एकता र सक्रिय सहभागिताले मात्र हिंसा, भेदभाव र अन्यायविरुद्धको संघर्षलाई गति दिन सक्छ। “तेजाब आक्रमण मात्रै हिंसा होइन, दिदीबहिनीले धेरै चोट खेपिरहेका छन्” मुस्कानले देशभर दिदीबहिनीहरूले भोग्नुपरेका विभिन्न प्रकारका हिंसाबारे पनि कटुपूर्वक टिप्पणी गरिन्।
“म पाँच वर्ष तेजाब आक्रमण अन्त्य गर्न लडिरहेँ। त्यसमा हामी सफल भयौं। तर तेजाब मात्रै हिंसा होइन,” उनले भनिन्, “देशभर थुप्रै हिंसा छन् जसले दिदीबहिनीको मुटु, सपनाहरू, जीवन र सम्भावनाहरू जलाइरहेका छन्। सबै प्रकारका हिंसालाई अन्त्य गर्न अब एकजुट हुन जरुरी छ।”
राजनीतिमा प्रवेशसँगै मुस्कानलाई धेरैले ‘संघर्षबाट नेतृत्वतर्फको यात्रा’ भनेर पनि हेरेका छन्। उनका समर्थकहरूका अनुसार, पारिवारिक त्रासदी, शारीरिक पीडा र सामाजिक अपमानबीच पनि नझुकी उभिएको एउटा युवती अब संस्थागत रूपमै परिवर्तनका मुद्दा उठाउन खोजिरहेकी छन्। कार्यक्रमस्थलमा उपस्थित धेरैजसो युवाहरूले उनको भाषणलाई ऐतिहासिक र प्रेरणादायी भनेका थिए। तेजाबले जलाएको अनुहार आज ‘आशा र प्रतिरोधको प्रतीक’ बनेर नेपाली समाजलाई नयाँ दिशातर्फ लैजाने संकेत गरेको उनीहरूको विश्वास छ।