नेकपा एमाले मधेश प्रदेश कमिटीको सचिवालय बैठकले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न गरेको छ। पार्टी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यीय महाधिवेशन प्रतिनिधि टोलीलाई अनुमोदन गरेको सचिव मनोज पौडेलले जानकारी दिए।
बैठकले अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सचिव मनोज पौडेल, उप–सचिव आरती भण्डारी र बिना शर्मालाई प्रतिनिधिका रूपमा चयन गरेको हो।प्रतिनिधि छनोटमा कुनै विवाद नउठी सर्वसम्मति कायम हुनु संगठनभित्रको एकता, समन्वय र विश्वासको प्रतीक भएको बैठकमा सहभागीहरूले मूल्यांकन गरेका छन्।
बैठकले आसन्न महाधिवेशनलाई ऐतिहासिक र व्यापक सहभागिता सम्पन्न महाधिवेशन बनाउन प्रदेशभर जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।सबै तहका कमिटीहरूलाई सक्रिय बनाउँदै संगठन विस्तार, प्रचारप्रसार र महाधिवेशनको लक्ष्यबारे जनताको ध्यान आकर्षित गरिने सचिव पौडेलले बताए।
मधेश प्रदेशबाट महाधिवेशनमा उल्लेखनीय उपस्थिति सुनिश्चित गर्न बैठकले ‘एक वडा–एक बस’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यसले प्रदेशका सबै स्थानीय तह र संगठनसम्बद्ध कार्यकर्तालाई महाधिवेशनमा सहभागी हुने वातावरण तयार गरिने विज्ञप्तिमा उल्लेख छ। सचिव पौडेलका अनुसार यी सबै निर्णय तत्काल कार्यान्वयनमा लैजान प्रदेशका सबै संरचना, जिल्ला कमिटी तथा जनसंगठनहरूलाई आवश्यक निर्देशन दिइएको छ।
पौडेलले महाधिवेशनलाई सफल बनाउनु प्रदेश नेतृत्वको पहिलो प्राथमिकता भएको बताउँदै पार्टी पंक्ति पूर्ण रूपमा परिचालित भएको स्पष्ट गरे। उनका अनुसार “निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने नारासहित एमालेको ११औँ महाधिवेशन भव्य रुपमा सम्पन्न गरिने लक्ष्य छ।