सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १५औं साधारणसभा शनिबार होटल कुमु प्यालेसमा सम्पन्न भएको छ।कार्यक्रम संस्थाका अध्यक्ष सुरेश प्रसाद कोईरीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्साका अध्यक्ष हरेराम पटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले सहकारीमार्फत आर्थिक कारोबार गर्दा सदस्यहरू लोभ–लालचमा नपरी, स्थानीय समुदायको स्वामित्वमा दिगो रूपमा सञ्चालित सहकारी छान्न आवश्यक रहेको बताए। हालै वीरगञ्जकै सानो पाइला बचत तथा ऋण सहकारीले ग्राहकलाई प्रलोभन देखाई ठगी गरेको घटनालाई उदाहरण दिँदै उनले जोखिमपूर्ण योजना तथा अवास्तविक प्रतिफलको पछि नलाग्न सदस्यहरूलाई सचेत गराए। पटेलले सहकारीहरूले कानुनी व्यवस्थाअनुसार १६ प्रतिशतभन्दा बढी ब्याज दर लिन नमिल्ने स्पष्ट गर्दै, त्यसभन्दा बढी ब्याजदर दिने लोभ देखाउने सहकारीबारे आफूलाई जानकारी दिन सदस्यहरूलाई आग्रह गरे। उनले सहकारी क्षेत्रको विश्वसनीयता जोगाउन पारदर्शिता, सदाचार र नियमपालन सबभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे।करिब ३५ हजार सहकारी मध्ये दुई–चार सय सहकारीको बदमासीले सम्पुर्ण सहकारीलाई अंकुश लगाउने काम उचित नहुने बताए ।
साधारणसभामा लेखा समिति संयोजक कृष्णा प्रसाद साह सोनारले संस्थाको आय–व्यय विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका कर्मचारी, उत्कृष्ट ऋणी, लगानीकर्ता तथा बचतकर्ता गरी करिब एक दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो।
सो अवसरमा संस्थापक सदस्य संजय चौरसिया, पत्रकार राकेश साहलगायतले धारणा राखेका थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रदिप कुशवाहा, सचिव रोशन कुमार यादव, कोषाध्यक्ष जितेन्द्र प्रसाद सिंह, सञ्चालक सदस्य रेखा कुमारी गुप्ता, उर्मिला देवी कुशवाहालगायतको उपस्थिति थियो।कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक रामजन्म प्रसाद महतोले गरेका थिए।
