आफन्त नेपाल पर्साको आयोजनामा शुक्रबार वीरगञ्जमा पीडित–केन्द्रित अन्तर्वार्ता मोडेल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियान” नारासहित सञ्चालन गरिएको कार्यक्रमले पीडितको आवाज, अधिकार र सहयोग प्रक्रियालाई सुदृढ बनाउने उद्देश्य बोकेको थियो।कार्यक्रम संस्थाकी अध्यक्ष कविता यादवको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका उप–मेयर ईम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न भएको
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलमले पीडितको वास्तविक पीडा सुन्नु, बुझ्नु र न्यायका हकलाई प्राथमिकतामा राख्नु स्थानीय तहको जिम्मेवारी भएको बताए। उनले भने, “पीडित–केन्द्रित दृष्टिकोणले न्यायप्राप्तिको प्रक्रियालाई सहज बनाउँछ। स्थानीय सरकार यस्ता जनचेतना मुलक कार्यक्रमलाई निरन्तर साथ दिन तयार छ।”
यसैगरी सरकारी वकिल कार्यालयकी उर्मिला काजुले मानव बेचबिखन, घरेलु हिंसा, लैङ्गिक विभेद जस्ता संवेदनशील मुद्दामा सबै निकायले पीडितमैत्री व्यवहार अपनाउनुपर्ने आवश्यकता औंल्याए। उनीहरूले यस्ता कार्यक्रमले समुदायमा चेतना बढाउने र पीडितलाई आत्मविश्वासका साथ न्यायप्रक्रियामा अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गरिन।

यसैगरी संस्थाकि अध्यक्ष यादवले आफन्त नेपालले वर्षौँदेखि पीडितको आवाजलाई प्राथमिकतामा राखेर नीतिगत सुधार, मनोसामाजिक सहयोग र न्यायप्रक्रिया सहज बनाउन काम गर्दै आएको बताइन्। “यो अन्तर्वार्ता मोडेलले पीडितको मनोवैज्ञानिक अवस्था बुझ्ने, आत्मविश्वास बढाउने र न्याय यात्रालाई सरल बनाउने कार्यमा मद्दत पुर्याउँछ,” उनको भनाइ थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक एकनाथ भट्टराई, वडा नं. १६ की सदस्य रिता देवी, तथा ओसिएमसीः की प्रतिनिधि दिल माया प्रजा विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमको सहजीकरण संस्थाकि रिना यादवले गरेकि थिईन ।
