आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको अवसरमा नेशनल मेडिकल कलेज प्रा। लि। र आशा किरण केन्द्रबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।आयोजित विशेष कार्यक्रममा भएको सम्झौताअनुसार आशा किरण केन्द्रका कर्मचारी, अभिभावक तथा विकासात्मक चुनौती भएका बालबालिकाहरूलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
सम्झौताअन्तर्गत नेशनल मेडिकल कलेजले आकस्मिक तथा आपत्कालीन उपचार, क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सेवा प्रदान गर्नेछ। साथै ओपीडी, डे–केयर, सामान्य बेड, आईसीयू, एनआईसीयू, पीआईसीयू, शल्यक्रिया, प्रयोगशाला परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, सीटी स्क्यान, एमआरआई, फार्मेसी र डेन्टल सेवामा विशेष छुट दिइनेछ। विशेष गरी बालबालिकाका सेवामा थप सहुलियत प्रदान गरिने जनाइएको छ।
कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा। इशरत जाहान अन्सारी, सिआइओ इञ्जि। प्रदीप कुमार चौधरी तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दास सहभागी हुनुहुन्थ्यो। आशा किरण केन्द्रको तर्फबाट संस्थापक एवं अध्यक्ष सुनिल गुप्ताको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी पर्सा १३ नम्बर गणका एसपी पूर्णचन्द भट्ट, उद्योगपति शुरेश रुँगटा, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रमका मुख्य अतिथि डा। बसन्त पन्त रहनुभएको थियो।
एक वर्षका लागि लागू हुने यस सम्झौतालाई आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिने जनाइएको छ। कार्यक्रममा सामाजिक उत्तरदायित्व र स्वास्थ्य सेवाबीचको सहकार्यले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो।
सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा। इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक एवं अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको हो।