हिन्दू पत्रकार संघ, नेपालका नवगठित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई वीरगन्जमा आईतबार सम्मान गरिएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमितिको आयोजनामा वीरगन्जस्थित रानीसती धर्मशालामा सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा हिन्दू धर्म, संस्कृति तथा राष्ट्रियताको संरक्षणमा सञ्चार माध्यमको भूमिका र जिम्मेवारीबारे गम्भीर छलफल गरिएको थियो। वक्ताहरूले मूल्य–आधारित र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याएका थिए।
कार्यक्रमका विशिष्ट अतिथि तथा विश्व हिन्दू परिषद् मधेस प्रदेशका उपाध्यक्ष सुनिल खेतानले सम्मानित पत्रकारहरूलाई टीका र गमछा ओढाएर सम्मान गर्नुभएको थियो। उहाँले पत्रकारितामार्फत समाजमा सकारात्मक चेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथिका रूपमा बोल्दै हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारले संघको स्थापना कुनै व्यक्ति, जात वा समुदायको विरोधका लागि नभई हिन्दू धर्मसँग जोडिएको धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनका लागि गरिएको स्पष्ट पार्नुभयो।
उहाँले ऐतिहासिक मठ–मन्दिर, धार्मिक पर्यटकीय स्थल तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारमा संघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगर अध्यक्ष ज्योति रुंगटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन गरी सनातन पद्धतिको सम्मान गरिएको थियो। कार्यक्रममा वीरगन्जका उद्योगी, नागरिक समाजका अगुवा, महिला सञ्चारकर्मी तथा युवाहरूको सहभागिता थियो।