हरेक वर्षझैँ यस वर्ष पनि माघ १ गते मकर संक्रान्तिको अवसरमा वीरगंजका थारु समुदायले माघे पर्व (खिचडी /माघि) विशेष कार्यक्रमका साथ मनाउने भएका छन्। माघि मूल समारोह समिति पर्साले मंगलबार बिहान नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले माघ १ गते थारु समुदायको महान पर्व माघि धुमधामका साथ मनाउन सम्पूर्ण तयारी पूरा भएको बताए। उनका अनुसार आदिवासी थारु समुदायको नयाँ वर्ष २६५० को अवसरमा शुभकामना आदान–प्रदानसहित विविध सांस्कृतिक कार्यक्रम समेटिएको छ।
समितिका अनुसार थारु समुदायको राजनीतिक, सामाजिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले घुम्टो, सामाचेकेवा, झम्टा, थारु पूर्वी नाच, बालबालिकाद्वारा गीत–नृत्य तथा बालकला प्रदर्शनी प्रस्तुत गरिनेछ। साथै घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरजस्ता परम्परागत परिकारको प्रदर्शनीसमेत राखिनेछ।
आर्थिक समितिका संयोजक नन्दकिशोर पञ्जियारका अनुसार माघ १ गतेको मुख्य कार्यक्रम श्री लक्ष्मीनारायण बनठाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। यसअघि माघ ३० गते पावरहाउस चोकदेखि मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल र्याली निकालिने र साँझ ६ बजे घण्टाघरमा दीप प्रज्वलन गरिने कार्यक्रम पनि तय गरिएको छ।
माघ १ गते रक्तदान कार्यक्रमसहित विभिन्न सांस्कृतिक प्रस्तुति आयोजना गरी पर्वलाई भव्य रूपमा सम्पन्न गरिने समितिले जनाएको छ। संयोजक चौधरीले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति, स्थानीयवासी तथा अन्य अतिथिहरूलाई कार्यक्रममा सहभागी हुन अपिल गरेका छन्।
पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महतो थारु, मनोजा चौधरी, प्रचार–प्रसार संघीय दिपेन्द्र चौधरी, पुनम चौधरी, सांस्कृतिक संयोजक विजया ओझा, सुरक्षा संयोजक विकास चौधरीलगायतको उपस्थिति रहेको थियो।