नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवले घरदैलो कार्यक्रमको शुभारम्भ गरेकी छन्। सरस्वती पूजाको पावन अवसर पारेर उनले पर्सागढी नगरपालिकाबाट औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेकी हुन्।
घरदैलो अभियानअन्तर्गत यादवले टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाहरू सुनेकी थिइन्। उनले विशेषगरी शिक्षा, रोजगारी, महिला सशक्तीकरण, आधारभूत सेवा तथा विकास निर्माणसँग सम्बन्धित विषयमा स्थानीयको धारणा संकलन गरेकी थिइन्।
घरदैलो क्रममा यादवले विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीयवासीसँग भलाकुसारी गर्दै महिला, युवा र बालबालिकाको भविष्य सुरक्षित गर्न राजनीति परिवर्तनमुखी हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “परिवर्तनको नेतृत्व महिलाले गर्छन्। अब महिलाको हक–अधिकारका लागि केवल आवाज उठाउने समय सकिएको छ, निर्णायक हस्तक्षेप र नेतृत्वको समय आएको छ।”
“समृद्ध पर्सा, सबल समाज र जनताको हक–अधिकार सुनिश्चित गर्ने संकल्पका साथ म तपाईंहरूबीच आएको हुँ,” उनले भनिन्।
स्थानीयवासीहरूले युवा तथा महिला उम्मेदवारलाई अघि सारेकोमा नेकपा एमालेको खुलेर प्रशंसा गर्दै यसपटक परिवर्तनका लागि एमालेको पक्षमा मत हाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका विषयमा उम्मेदवारसँग अपेक्षा राखेका थिए।
घरदैलो अभियानलाई निरन्तरता दिँदै आगामी दिनहरूमा पर्सा क्षेत्र नम्बर २ का विभिन्न वडाहरूमा जनसम्पर्क विस्तार गरिने एमाले पर्सा कमिटीले जनाएको छ।कार्यक्रममा गोकर्ण पाठक, एमाले नेतृ सिता लामा, प्रद्युमन यादव लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
