नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादवले आगामी निर्वाचनलाई “भविष्य निर्माणको अभियान” भएको बताएकी छन्। नेकपा एमाले बहुदरमाई नगरपालिकाको आयोजनामा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विकास र स्थिरताका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिन्।
उनले एमालेले विगतमा सडक, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक सुरक्षाजस्ता क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै ती उपलब्धिलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताइन्।
यादवले महिलाहरूलाई निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै अब नेतृत्वमा पुग्ने समय आएको धारणा राखिन्। घर सम्हाल्ने महिलाले देशको नेतृत्व पनि सम्हाल्न सक्ने उल्लेख गर्दै महिला सहभागिता विस्तार गर्नुपर्नेमा जोड दिइन्।
उनले भ्रष्टाचारसँग सम्झौता नगर्ने, विकासमा ढिलाइ स्वीकार नगर्ने र जनताको भरोसा कायम राख्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनलाई विचार, इमान र भविष्य जित्ने चुनावका रूपमा व्याख्या गरिन्। साथै उनले सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन्।
कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेश उपाध्यक्ष एवं वीरगञ्ज इन्चार्ज तथा समानुपातिक उम्मेदवार बिचारी यादव, नेता शिव पटेल, मुकेश द्विवेदी,मनोज कुशवाहा लगायतले धारणा राखेका थिए। कार्यक्रम नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
