वीरगञ्ज । मतदाताले विकल्प खोजिरहेको वर्तमान अवस्थामा पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव मतदाताको आशाको केन्द्र बन्दै गएकी छिन् । यादव नेकपा एमालेबाट पर्सा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । राजनीतिमा नयाँ अनुहार देखिए पनि समाजसेवामा भने उनी पुरानै र परिचित पात्रका रूपमा चिनिन्छिन् । विशेषगरी शिक्षा, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणका क्षेत्रमा उनले लामो समयदेखि निरन्तर काम गर्दै आएकी छिन् ।
नेकपा एमालेले युवालाई अवसर दिन्छ भन्ने आमधारणा कम रहेको समयमा पार्टीले जनताको चाहना र परिवर्तनको मागलाई आत्मसात गर्दै रिमा यादवलाई उम्मेदवार बनाएको छ । ‘जेन–जी’ पुस्ताको सक्रियता र नयाँ नेतृत्वको मागबीच योग्य, ऊर्जावान र युवा उम्मेदवारको रूपमा यादव पहिलो रोजाइमा परेकी हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैली निवासी यादवले विशेष गरी बालबालिकालाई विद्यालय भर्ना गराउने, विद्यालय छोड्ने (ड्रपआउट) दर घटाउने र अभिभावकलाई शिक्षाप्रति सचेत बनाउने अभियानमा उल्लेखनीय योगदान दिँदै आएकी छिन् । यही कारण शिक्षा क्षेत्रसँग आबद्ध अभिभावक, शिक्षक र युवाहरू उनको पक्षमा खुलेर समर्थन जनाइरहेका छन् ।
यसअघि पटक–पटक दोहोरिएका पुराना अनुहारप्रति असन्तुष्टि बढिरहेको अवस्थामा यसपटक मत परिवर्तन गर्ने मनस्थितिमा मतदाता देखिएका छन् । युवा, सक्षम र महिला उम्मेदवारको रूपमा यादव देखिँदा मधेशका धेरै मतदाताले उनलाई परिवर्तनको प्रतीकका रूपमा हेर्न थालेका छन् ।
विशेषगरी मधेश समाजमा अझै पनि महिलालाई घुम्टो र चुलोचौखोमा सीमित राख्ने सोचलाई तोड्दै महिलाहरू नेतृत्व तहमा पुग्नुपर्छ भन्ने सन्देश यादवको उम्मेदवारीले दिएको स्थानीय महिला अगुवाहरू बताउँछन् । महिला अधिकार, समान सहभागिता र अवसरको पक्षमा यसअघि पनि आवाज उठाउँदै आएकी यादवले आफ्ना मुद्दालाई अब संसदमार्फत राष्ट्रिय तहमा सशक्त ढंगले उठाउने अठोट गरेकी छिन् ।
रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच र स्थानीय विकास उनका प्रमुख प्राथमिकताहरु हुन् । राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय रिमा यादवप्रति बढ्दो समर्थनले पर्सा क्षेत्र नं. २ को चुनावी समीकरणलाई नयाँ मोड दिएको छ । मतदाताको चाहना र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्ने उम्मेदवारको रूपमा यादव स्थापित हुँदै गएको क्षेत्र न. २ का बासिन्दाको निचोड छ ।
पर्सा–२ मा अहिले चुनावी माहोल थप उत्साहपूर्ण बन्दै गएको छ । मतदाताहरू यसपटक सचेत भएर मत प्रयोग गर्ने मनस्थितिमा देखिएका छन् र त्यो परिवर्तनको केन्द्रमा रिमा यादव उभिँदै गएको स्थानीयहरूको भनाइ छ ।