३ जेठ, वीरगञ्ज । पानी परेर केही दिन राहत महशुस गरिए पनि विगत २ दिन देखि गर्मी बढेर वीरगन्जमा जनजीवन प्रभावित भएको छ ।
वीरगन्ज लगायत धनगढी, नेपालगञ्ज, जनकपुर र तराई मधेशका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस सम्म पुगेको छ । अघिल्ला दिनहरुमा ती स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल झरेको थियो । अबको ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने अनुमान गरिएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । उनले भने ‘गएको केही दिन अगाडि जुन किसिमले वर्षा भयो, त्यो वर्षाले तापक्रममा गिरावट भएको थियो । अब वर्षा गराउने प्रणाली नभएकाले आगामी दिनमा गर्मी बढ्ने देखिन्छ ।’
केही दिन अघि भारत बिहार आसपासको न्यूनचापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर वर्षा भएको थियो । सो वर्षाका कारण तापक्रम घट्दा केही शीतल महसुस भएको थियो । बिहार आसपासको न्यूनचापीय प्रणालीको प्रभाव नेपालबाट पूर्णरुपमा हटिसकेको छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको मात्र आंशिक प्रभाव छ ।
त्यसको प्रभावले कोशी प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । तर तराई मधेशका जिल्लामा तत्काल पानी पर्ने सम्भावना देखिँदैन । त्यसैले गर्मी बढ्ने पूर्वानुमान मौसमविदले गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवम् मौसमविद डा. विनोद पोखेरलले आगामी चार दिनसम्म देशभैर गर्मी बढ्ने र तराई मधेशका जिल्लामा तातो हावाको लहर अर्थात् लु चल्नसक्ने सम्भावना औंल्याएका छन् । वरिष्ठ मौसमविद प्रधानाङ्ग लगातार गर्मी बढ्दा लु चल्ने बताए । अहिले नै लु चल्ने भनेर भविष्यवाणी भने नगर्ने तर लु चल्यो भने बुलेटिनमार्फत् जानकारी उनले भने ।