वीरगञ्ज । नेकपा एमालेका केन्द्रीय कमिटीका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश गम्भीर संकटमा फस्नुको मुख्य कारण डिप स्टेट भएको आरोप लगाएका छन्।
नेकपा एमाले पर्साले मंगलबार वीरगञ्जमा आयोजना गरेको पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ‘बादल’ले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने उद्देश्यले केही अदृश्य शक्तिहरू सक्रिय रहेको दाबी गरे। उनले भने, “देशमा देखिएको राजनीतिक अस्थिरता, शासन प्रणालीप्रतिको अविश्वास र विकासमा आएको अवरोधको पछाडि डिप स्टेटको चलखेल स्पष्ट रूपमा देखिन्छ।”
उनका अनुसार संविधान, संसद् र निर्वाचित सरकारभन्दा बाहिर बसेर निर्णय गर्ने प्रवृत्तिले मुलुकलाई संकटतर्फ धकेलेको छ। उनले यस्ता प्रवृत्तिविरुद्ध राजनीतिक दल, कार्यकर्ता र आम नागरिक सचेत र एकजुट हुन आवश्यक रहेको बताए।
उपाध्यक्ष थापा ‘बादल’ले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी कार्यकर्ता तथा आम जनतालाई राष्ट्र र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। उनले नेकपा एमाले मात्रै मुलुकलाई राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको दिशामा अघि बढाउन सक्षम शक्ति भएको दाबी गरे।
कार्यक्रममा नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव, क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश पाण्डे, क्षेत्र नम्बर–४ का उम्मेदवार जालिम मिया, केन्द्रीय सदस्यहरू निर्मला देवकोटा, प्रभु हजरा, विजय सरावागी, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, उपाध्यक्ष विचारी यादव लगायत नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमकै अवसरमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह, विभिन्न वडाका अध्यक्ष तथा नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई प्रमुख अतिथि रामबहादुर थापा ‘बादल’ले स्वागत गरेका थिए।
-1770113423.jpg)
कार्यक्रममा स्वागत मन्तव्य सुन्दर कुर्मीले राखेका थिए भने सहजीकरणको भूमिका सचिव महेश दासले निर्वाह गरेका थिए। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै पार्टीलाई थप सशक्त बनाउँदै जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रम पर्सा अध्यछ बिस्वमभर शर्मा को अध्यछतामा सम्पन्न भएको थियो.