नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवलाई पर्सागढी नगरपालिका वडा नम्बर–३ झाबराहामा स्थानीयवासीले भव्य स्वागत गरेका छन्। बिहीबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा झाबराहा पुगेकी उम्मेदवार यादवको आगमनलाई स्थानीयले उत्सवकै रूपमा मनाएका थिए।
स्थानीय महिला, युवा तथा सर्वसाधारणले फूलमाला लगाई उम्मेदवार यादवलाई स्वागत गर्दै जितको शुभकामना दिएका थिए। स्वागत कार्यक्रमका क्रममा नाचगान, नाराबाजी तथा खुशियालीसमेत मनाइएको थियो। कार्यक्रममा झाबराहा मात्र नभई आसपासका गाउँबाट आएका मतदाता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा यसपटक योग्य, शिक्षित र महिला उम्मेदवार पाएको भन्दै स्थानीय मतदाता उत्साहित देखिएका थिए। उनीहरूले लामो समयपछि जनताको भावना बुझ्ने र विकासप्रति प्रतिबद्ध उम्मेदवार पाएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा हजारौं नेता तथा कार्यकर्ताको उपस्थिति रहँदा चुनावी माहोल थप उत्साहजनक बनेको थियो।
भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रिमा कुमारी यादवले आफू यस क्षेत्रको समग्र विकासका लागि राजनीतिमा होमिएको बताउनुभयो। उहाँले पर्सा–२ को शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार आवश्यक रहेको उल्लेख गर्दै दीर्घकालीन विकास योजना तयार गरिएको जानकारी दिनुभयो।

यादवले विगतमा भएका विकासका अधुरा कामलाई पूरा गर्दै जनताले अनुभूति गर्ने खालको परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्दै जनताको सुख–दुःखमा सधैं साथ दिने नेताको रूपमा काम गर्ने विश्वास दिलाउनुभयो।
अन्त्यमा उहाँले आफ्नो विकास योजनालाई सफल बनाउन तथा स्थिर सरकार र समृद्ध क्षेत्र निर्माणका लागि सूर्य चिन्हमा मतदान गरी विजयी गराउन सम्पूर्ण मतदातासँग आग्रह गर्नुभयो।
