राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत प्रसौनी बिर्ताका मतदातासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक एजेन्डा प्रस्तुत गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
आज सम्पन्न घरदैलो अभियान वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३, प्रसौनीबाट सुरु गरिएको थियो। कार्यक्रमको सुरुवात स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गरी गरिएको थियो। त्यसपछि उम्मेदवार पन्तले वडाभित्रका विभिन्न टोल तथा बस्तीहरूमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।
घरदैलोका क्रममा पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको नीति, उद्देश्य तथा समग्र राजनीतिक दृष्टिकोणबारे जानकारी गराएका थिए। उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारमुक्त शासन व्यवस्थालाई रास्वपाको मुख्य प्राथमिकता रहेको बताउँदै जनताको विश्वास जित्ने खालको राजनीति आवश्यक रहेको धारणा राखे।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारसम्बन्धी विभिन्न जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए। उम्मेदवार पन्तले ती सुझावहरू ध्यानपूर्वक सुन्दै निर्वाचित भएमा जनताको अपेक्षा र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले आगामी दिनहरूमा पनि जनस्तरमा प्रत्यक्ष संवाद, सहभागितामूलक कार्यक्रम तथा घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ। पार्टीले जनताको आवाजलाई प्राथमिकतामा राख्दै नयाँ राजनीतिक संस्कृतिको स्थापना गर्ने लक्ष्यसहित चुनावी अभियानलाई अगाडि बढाइरहेको बताइएको छ।