नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले पर्साको समग्र विकास र परिवर्तनका लागि आफू सक्रिय राजनीतिमा होमिएको बताएकी छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ अलौँमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।
यादवले पर्सा–२ का जनताले लामो समयदेखि आश्वासन मात्र पाएको उल्लेख गर्दै अब जनताको विश्वास जित्ने गरी व्यवहारिक र परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता जनाइन्। यसअघिका निर्वाचित जनप्रतिनिधिहरूले गरेको वाचा कार्यान्वयन नभएकाले जनता निराश बनेको बताइन्।
कार्यक्रममा बोल्दै उनले महिला सशक्तिकरणलाई आफ्नो प्रमुख एजेन्डा रहेको बताइन्। विशेषगरी मधेशी महिलाहरू शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट पछाडि परेको भन्दै महिलालाई आत्मनिर्भर बनाउने नीति अवलम्बन गर्ने बताइन्। “मधेशी महिलाको नेतृत्व विकास, सीपमूलक तालिम र आर्थिक सशक्तिकरण बिना समाजको विकास सम्भव छैन,” उनले भनिन्।
उनले शिक्षा क्षेत्रको सुधारलाई पनि प्राथमिकतामा राख्ने बताउँदै गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार सुधार र छात्रा शिक्षालाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिइन्। साथै पर्सा–२ मा सडक, खानेपानी, नाला, विद्युत् लगायतका भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा केन्द्रिय सदस्य बिजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव,एमाले पर्सा २ का क्षेत्रिय अध्यक्ष मनोज कुशवाहा ,युवा नेता मुकेश दिवेदि, वीरगंज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली , वडा अध्यक्ष सन्जु छतकुली लगायतकाले धारणा राखेको थिए । कार्यक्रममा युवा नेता अजय साह, पिन्टु उपाध्याय,प्रधुमन यादव लगायतको उपस्थिती थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।
