नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–२७ कुहडीमा बुधबार वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। प्रमोद साह तेलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उम्मेदवार रिमा यादवले क्षेत्रको समग्र विकासका लागि विभिन्न योजनाहरू प्रस्तुत गरेकि थिईन । यादवले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै महिलालाई घरेलु तथा व्यवसायिक तालिम प्रदान गर्ने योजना रहेको बताईन । । उनले सिलाई, कढाई, मस्यौरा बनाउने हाते कढाईजस्ता तालिममार्फत महिलालाई व्यवसायिक दक्षता प्रदान गरी आयआर्जनमा विशेष ध्यान दिने योजना रहेको जानकारी गराइन्। साथै, प्रत्येक स्वास्थ्य चौकीमा कम्तीमा एक एमबिबिएस डाक्टर उपलब्ध गराउने र सुलभ रुपमा औषधि उपलब्ध गराउने आफनो प्रमुख लक्ष्य रहेको बताईन ।
यादवले महिला सशक्तिकरणमा जोड दिँदै भन्नुभयो, “महिला अब घरको चुलो–चौकामा मात्र सीमित छैनन्, हरेक क्षेत्रमा उनीहरुको सक्रिय सहभागिता आवश्यक छ। अवसर पाएमा महिला पनि काम गरेर देखाउने क्षमता राख्छिन्। अब समय आएको छ, महिलालाई जिताएर देखाउने।”
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलामा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष अतिथि समानुपातिक उम्मेदवार बिचारी यादवले आगामी निर्वाचनमा एमाले पर्सा–२ का उम्मेदवार रिमा यादवलाई विजयी गराउन सबै नेता–कार्यकर्तालाई एकजुट भएर सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य बिजय सरावगीले मतदाताका अगाडि क्षेत्रको इतिहास रच्ने बेला आएको बताए। उनले एमालेले अघि सारेको शिक्षित युवा उम्मेदवारको पक्षमा फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न अनुरोध गरे। कार्यक्रममा युवा नेता मुकेश द्विवेदी,संखुवा प्रसौनी गाँउपालिका अध्यक्ष यशवन्त यादव, वडा अध्यक्ष सन्जु छतकुली, बिजय कुर्मी लगायतले धारणा राखेका थिए।
यसैबिच, कार्यक्रममा नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपालका सयौं नेता एमालेमा प्रवेश गरेका थिए। रास्वपाका वडा नम्बर २७ का बरिष्ठ नेता तथा पुर्व वडा अध्यक्ष बुनी प्रसाद यादव सहित दर्जन भन्दा बढि नेताहरु एमाले प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई केन्द्रिय सदस्य सरावगी, उपाध्यक्ष बिचारी यादव, उम्मेदवार रिमा यादव, संखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव लगायतका नेताहरुले फुलमाला र दोसल्ला ओढाई पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का अध्यक्ष मनोज कुशवाहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, पूर्व वडा अध्यक्ष प्रदीप यादव, अजय साह तेली, रमिला खातुन, प्रदुमन यादव, पिन्टु उपाध्याय, बिकि सिंह लगायतको उपस्थिती थियो।कार्यक्रमको सहजीकरण संतोष पासवानले गरेका थिए ।
