नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवलाई वीरगञ्ज–२७ कुहडीमा भव्य स्वागत तथा सम्मान गरिएको छ। बुधबार घरदैलो कार्यक्रमका क्रममा कुहडी पुगेकी यादवलाई स्थानीय बासिन्दाले फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
यस क्षेत्रमा पहिलो पटक एमालेले महिला उम्मेदवार उठाएकोमा स्थानीयले खुसी व्यक्त गर्दै उत्साहजनक सहभागिता जनाएका थिए। स्वागतका क्रममा बोल्दै स्थानीयले विगतका जनप्रतिनिधिहरूले भाषण मात्र गरेर जनताको अपेक्षा पूरा गर्न नसकेको गुनासो गरे। “अहिलेसम्म धेरै आश्वासन सुन्नुपर्यो, तर काम देखिएन। यसपटक हामी परिवर्तन चाहन्छौं,” एक स्थानीयले भने।
पुरुष नेतृत्वप्रति निराशा व्यक्त गर्दै केही मतदाताले यसपटक महिला उम्मेदवार पाएकोमा गर्व लागेको बताए। उनीहरूले रिमा यादवको जित कुनै एक दलको मात्र नभई समग्र महिलाको जित हुने उल्लेख गर्दै पार्टीभन्दा माथि उठेर सहयोग गर्ने प्रतिबद्धता जनाए। “हामीलाई पार्टीभन्दा पनि प्रतिनिधित्व महत्त्वपूर्ण छ। उहाँ महिला हुनुहुन्छ, हाम्रो आवाज बन्न सक्नुहुन्छ,” स्थानीय महिलाहरूले भनिन्।
पुरुषप्रधान समाजमा महिलाले नेतृत्वको अवसर पाउनु नै सकारात्मक संकेत भएको भन्दै उनीहरूले सबै महिलाहरू एकजुट भएर यादवलाई विजयी गराउने बताए। कार्यक्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न समस्याहरू उठाएका थिए।

जवाफमा उम्मेदवार यादवले आफू निर्वाचित भएपछि नीतिगत सुधारका पहल गर्ने र विकास–निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। “जनताले विश्वास गर्नुभएको छ, म त्यो विश्वासलाई काममार्फत प्रमाणित गर्नेछु,” उनले भनिन्।कार्यक्रममा एमाले नेतृ सीता लामा लगायत स्थानीय नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।