पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१९ बिन्दवासिनीमा आज नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार रिमा यादवले यस क्षेत्रको समग्र विकासका लागि थुप्रै योजनाहरू रहेको बताइन्। उनले सीपमूलक तालिम विस्तार, प्राविधिक शिक्षाको प्रवर्द्धन, आधुनिक कृषि प्रणाली विकास, पशुपालन प्रवर्द्धन तथा स्वास्थ्य क्षेत्र सुधारका लागि नीतिगत रूपमा काम गर्नुपर्ने धारणा राखिन्।
यादवले कृषि क्षेत्रको विकासका लागि प्रत्येक वडामा कृषि क्लिनिक स्थापना गर्ने योजना रहेको उल्लेख गरिन्। साथै, समयमै मल र बिउ उपलब्ध गराउने नीति निर्माण गर्दै कृषि क्षेत्रमा सुधार ल्याउने लक्ष्य रहेको बताइन्।
उनले विगतका जनप्रतिनिधिले गर्न नसकेको काम गरेर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, यस क्षेत्रमा अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै ती कामहरू अघि बढाउन सदनमै पुगेर आवाज उठाउनुपर्ने भएकाले आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरिन्।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावागी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा अध्यक्ष संजु छतकुली, युवा नेता मुकेश दुबेदी लगायतले धारणा राखेका थिए। कार्यक्रममा युवा नेता लियाकत अली, अजय साह लगायत सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण पिन्टु उपाध्यायले गरेका थिए।