पर्सा । नेपका एमालेकि उम्मेदवार रिमा कुमारी यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने सिमावर्ती गाउँ सिवान टोल र अलौंमा शनिबार बिहान घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। वीरगंज महानगरपालिका–१७ को सिवान टोलमा पुगेकी उम्मेदवार यादवलाई स्थानीय बासिन्दाले फूलमाला लगाएर स्वागत गरेका थिए। घरदैलोका क्रममा उनले स्थानीयका समस्या सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यादवले विशेष गरी सिमावर्ती क्षेत्रका नागरिकले भोग्दै आएका सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी, सडक र खानेपानीसम्बन्धी समस्यालाई प्राथमिकतामा राखेर संसदमा आवाज उठाउने बताइन्। “सीमावर्ती गाउँका जनता अझै पनि आधारभूत सेवा र अवसरबाट वञ्चित छन्, म उनीहरूको हकअधिकारका लागि दृढ रूपमा उभिनेछु,” उनले भनिन्।

उनले विगतमा निर्वाचित नेताहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले नयाँ पुस्ताका युवाहरू राजनीतिमा आएको उल्लेख गर्दै अब भाषण होइन, काम गर्ने नेतृत्व आवश्यक रहेको बताइन्।
घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य बिजय सरावगी, प्रभु हजरा, उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, वडा अध्यक्ष सन्तु छतकुली, युवा नेता मुकेश द्विवेदी, अजय साहलगायत स्थानीय नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो।
स्थानीय बासिन्दाले सिमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रण, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, सडक स्तरोन्नति तथा कृषि बजार व्यवस्थापनको माग गरेका थिए। उम्मेदवार यादवले ती सबै मागलाई आफ्नो घोषणापत्रमा समेटेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइन्।
