नेपाली काँग्रेस पर्सा १ का उम्मेदवार अनिल रुगटाले सतकर्म, नैतिकता र सहिष्णुताको बाटो अपनाए मात्रै समाज र जीवन दुवै पुण्यमय बन्ने बताएका छन्। उम्मेदवार रुगटाले महाशिवरात्रि तथा ९०औँ त्रिमूर्ति शिव जयन्तीको अवसरमा वीरगञ्जस्थित ब्राह्माकुमारी रोजयोग सेवा केन्द्रमा आयोजित आध्यात्मिक कार्यक्रम तथा शिवध्वजारोहण समारोहमा सहभागी हुँदै यस्तो धारणा व्यक्त गरेका हुन्।
रुगटाले भने, “सत्य, अहिंसा, प्रेम र सहिष्णुताको मार्गमा अघि बढ्दै सतकर्म गर्न सके जीवन वास्तवमै पुण्यमय बन्छ। विश्व शान्ति, सामाजिक एकता र सद्भाव कायम गर्न हामी सबैले आफ्नो९आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्छ।”
उनले महाशिवरात्रिको आध्यात्मिक सन्देशलाई व्यवहारमा उतार्न सके समाजमा रहेको विभेद, द्वन्द्व र अशान्ति अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। “धर्मले मानिसलाई जोड्ने काम गर्छ, विभाजन गर्ने होइन,” उनले थपे, “नैतिक र सभ्य समाज निर्माणका लागि राजनीतिक नेतृत्व, सामाजिक संस्था र नागरिक सबैको सहकार्य अपरिहार्य छ।”
कार्यक्रममा उपस्थित धर्मगुरु, समाजसेवी, स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले धार्मिक पर्वहरूले समाजमा सकारात्मक सोच र आन्तरिक शान्ति फैलाउने बताएका थिए।

सो अवसरमा नेपाली काँग्रेसका स्थानीय नेता–कार्यकर्ता, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो।