पर्सागढी नगरपालिकामा नेकपा एमाले झन मजबुत बनेको छ। बुधबार वडा नम्बर–७ रघुनाथपुरमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व वडा अध्यक्ष रामजी साह तेलीको नेतृत्वमा सयौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
कार्यक्रममा पर्सागढी–८ हरपुरका नेता सुनिलदत्त महतो , रामजन्म चौधरी , पर्सागढी–९ बडेर्वाका जसपा नेता तथा वडासदस्य हृदयानरायण गौरो पनि एमाले प्रवेश गरेका छन ।
नवप्रवेशीहरूलाई पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादव, एमाले केन्द्रीय सदस्य विजय सरावगी तथा समानुपातिक उम्मेदवार बिचारी यादव लगायतका नेताहरूले फूलमाला र गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रिमा कुमारी यादवले एमाले जनताको विश्वास जितेको पार्टी भएको उल्लेख गर्दै विकास, रोजगारी र स्थायित्वका लागि एमाले अझ बलियो बनाउन सबैलाई आग्रह गरिन्। उनले पार्टी प्रवेश गर्नेहरूको सम्मान र क्षमताअनुसार जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा गोकर्ण पाठक, बहुदरामाई नगरपालिकाका मेयर सिंहासन साह तेली,पुर्व वडा अध्यक्ष असलम अंसारी लगायतका नेताहरूले धारणा राखेका थिए। कार्यक्रममा मधेश प्रदेश सचिव मनोज पौडेल, प्रदेशसभा सदस्य देवनारायण चौधरी, युवा नेता लियाकत अली, लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
नेताहरूले पर्सागढीमा एमालेप्रति जनसमर्थन बढ्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीको पक्षमा थप जनमत आउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी नवप्रवेशीहरूले पनि एमालेको नीति, कार्यक्रम र विकासमुखी योजनाबाट प्रभावित भई पार्टीमा समाहित भएको बताएका थिए।
